काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरी राहदानी दुरुपयोगमा छानबिन गर्न उजुरी परेको छ।
सिन्धुली निवासी युवराज पौडेल सफलले लामिछानेलाई तत्काल पक्राउ गरी छानबिन गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जाहेरी दिनुभएको छ।
यसफल तिनै व्यक्ति हुनुहुन्छ, जसले यसपहिले रवि लामिछानेले नेपाली नागरिकता पुनःप्राप्ति गर्ने वैधानिक प्रक्रिया छलेर अमान्य भैसकेको नागरिकताका आधारमा पार्टी दर्ता गरी निर्वाचनमा उम्मेदवार बनेर विजयी बनेकोले अवैध नागरिकताका आधारमा भएको उहाँका कामकारवाही अमान्य घोषित गरी पाउँ भनी सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो ।
सर्वोच्च अदालतले रविले कानूनले निर्धारित प्रक्रिया पूरा गरेर नागरिकता नलिएको भन्दै अवैध नागरिकताका आधारमा भएका उम्मेद्वारी,सांसदको सपथ र मन्त्री पदका बहालीसहितका काम कारबाही अवैधानिक ठहर गरेको थियो ।
सर्वोच्च अदालतले अवैध भनेको नागरिकताकै आधारमा रविले राहदानी बनाएको र उहाँसंग दोहोरो पासपोर्ट रहेको भन्दै रविलाई तत्काल पक्राउ गरी छानविन गर्न जाहेरीमा माग गरिएको छ।
रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०५० फागुन १० गते नेपाली नागरिकता लिनुभयो। उहाँले सन् २०१४ फेबु्रवरी २१ (२०७० फागुन ९) मा अमेरिकाको नागरिकता प्राप्त गर्नुभयो।
अमेरिकी नागरिकता र पासपोर्ट प्रयोग गरी पारिवारिक भिसामा नेपाल आउनुभएका रविले रद्द भएको नागरिकताका आधारमा २०७२ जेठ १३ गते नयाँ पासपोर्ट बनाउनुभयो र दोहोरो नागरिकता र पासपोर्ट एकसाथ प्रयोग गर्न थाल्नुभयो।
रवि लामिछानेले आफूले अमेरिकी नागरिकता र पासपोर्ट लिएपछि २०१६ अक्टोबर २ अर्थात् २०७३ असोज १६ नेपाल आएको उल्लेख गर्नुभएको थियो । अध्यागमन विभागको पत्रबाट लामिछाने सन् २०१४ जुन ०५ अर्थात् २०७१ जेठ २२ मा नेपालमा आएको देखिएको छ। उहाँले सन् २०१८ को मे १८ अर्थात २०७५ जेठ ४ मा अमेरिकी पासपोर्ट त्याग गर्ने प्रक्रिया सुरु गर्नुभएको र सन् २०१८ को जुन २८ अर्थात् २०७५ असार १४ मा नेपालस्थित अमेरिकी दूतावास मार्फत अमेरिकी सरेण्डर गर्नुभएको थियो।
यसरी रविले २०७२ देखि २०७५ सम्म दोहोरो पासपोर्ट धारण गरेको देखिन्छ ।
रविले राहदानी ऐनको प्रचलित व्यवस्था विपरीत जानी जानी झुटो विवरण दिई २०७२ जेठ १३ गते ०८८३४८३८ नम्बरको नेपाली राहदानी लिएको आरोप लगाउदै अधिवक्ता सफलले नेपाली राहदानी कानूनको बर्खिलाप हुने गरी नेपाली राहदानी समेत लिई दोहोरो राहदानी राख्ने एवम् दोहोरो राहदानी प्रयोग गरेको र तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) तथा हाल प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क) ले निषेधित राहदानी सम्बन्धी कसूर गरेको हुनाले कसुरदार निज रवि लामिछानेलाई तत्कालै नियन्त्रणमा लिई उक्त राहदानी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान गरी कानुन बमोजिम मुद्दा चलाई कानुनी कारवाही गरी हदैसम्म सजाय होस् भनी यो जाहेरी दरखास्त पेश गर्नुभएको छ ।
उक्त कसुर अनुसार लामिछानेलाई पाँच वर्षसम्म कैद र हदैसम्म जरिवानासमेत गर्ने गरी कानून बमोजिम मुद्दा चलाउन माग गरिएको छ।
अधिवक्ता सफलले दर्ता गराउनुभएको जाहेरीमा भनिएको छ,”०८८३४८३८ नम्बरको निज कसुरदारको नामको राहदानी राहदानी ऐन बमोजिम रद्द गर्न तथा राहदानीसम्बन्धी कसुरको अनुसन्धान भइरहेको सिलसिलामा निज कसुरदारको नाममा नयाँ राहदानी समेत जारी नगर्ने गरी कसुरको अनुसन्धान तथा कानुनबमोजिम मुद्दाको कारवाही चलाइपाऊँ ।”


















