Prakash Adhikari February 1, 2023

क्यारोलिन डेभिस, पेशावरबाट र फ्रान्सिस माओ, सिङ्गापुरबाट

पेशावर(पाकिस्तान), १८ माघ(बीबीसी) । पाकिस्तानको पेशावरस्थित एउटा मस्जिदमा प्रार्थना गरिरहेका प्रहरीहरूलाई निसाना बनाएर गरिएको आत्मघाती बम विस्फोटनमा मृत्यु हुने मानिसको सङ्ख्या १०० पुगेको छ।

उक्त मस्जिद कडा सुरक्षा व्यवस्था भएको प्रहरी मुख्यालय भएको क्षेत्रमा अवस्थित छ। ती आक्रमणकारीले कसरी त्यहाँ प्रवेश पाए भन्ने विषयमा छानबिन भइरहेको छ।

केही वर्षयता पाकिस्तानमा ठूलो क्षति हुनेगरी गरिएका आक्रमणमध्ये उक्त घटना पनि पर्छ।

पाकिस्तानी तालिबानले उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ। यसअघि आफू तालिबानबाट टुक्रिएको एउटा समूह भएको दाबी गर्ने एउटा समूहका एक कमान्डरले उक्त घटना आफूले गराएको दाबी गरेका थिए।

विगतमा पाकिस्तानी तालिबानले मस्जिद, विद्यालय वा बजारहरूमा भएका बम आक्रमणहरूको जिम्मेवारी लिएको थिएन।

सो भूमिगत लडाकु समूहले आफू पाकिस्तानी जनतासँग नभई सुरक्षाबलसँग युद्धमा रहेको बताउने गरेको छ। तर धेरै जनाले तालिबानको अस्वीकृतिप्रति शङ्का व्यक्त गर्ने गरेका छन्।

मङ्गलवार उद्धारकर्ताहरूले भग्नावशेषमा पुरिएका मानिसको खोजी गरेका थिए। सो क्रममा नौ जनालाई जीवितै फेला पारिएको थियो।

स्थानीय अधिकारीहरूले भग्नावशेषमा अब अरू कोही नफसेको बताएका छन्।

पेशावरमा बम विस्फोटनमा परेर घाइते भएकाहरूलाई अस्पताल लगिएको छ

“आतङ्कवादीहरू पाकिस्तानको रक्षा गर्ने जिम्मेवारी भएकाहरूलाई आक्रमण गरेर तर्साउन चाहन्छन्”, प्रधानमन्त्री शहबाज शरिफले भन्नुभएको छ।

पाकिस्तानमा गत नोभेम्बरमा तालिबानले युद्धविराम अन्त्य गरेपछि हिंसा बढ्दै गएको छ।

डिसेम्बरमा उसले देशको पश्चिमोत्तर भागमा रहेको प्रहरी चौकीलाई निसाना बनाउँदै आक्रमण गरेको थियो। उक्त घटनामा ३३ जनाको ज्यान गएको थियो।

अझै ५० जनाभन्दा धेरै घाइते रहेकोमा केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

पेशावरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले घटना हुँदा त्यस क्षेत्रमा ३०० देखि ४०० प्रहरी रहेको स्थानीय सञ्चारमाध्यमलाई बताउनुभयो।

पेशावर बम विस्फोटन
घटना भएको मस्जिद सहरको सर्वाधिक सुरक्षायुक्त क्षेत्रमध्ये पर्छ। त्यहाँ प्रहरी मुख्यालय, गुप्तचर निकाय र प्रतिआतङ्कवाद ब्यूरोहरू छन्।

प्रधानमन्त्री शरिफले उक्त आक्रमणको ूइस्लाम धर्मसँग कुनै सम्बन्ध नभएकोू बताउनुभयो। ूसम्पूर्ण राष्ट्र आतङ्कवादको त्रासविरुद्ध एकजुट भएर उभिएको छ,ू उहाँले भन्नुभयो।

अफगानिस्तानसँगको सीमानजिकै रहेको पेशावर सहरमा दिउँसोको प्रार्थनाको समयमा दिउँसो झन्डै १ः३० बजे विस्फोट भएको थियो।

घटनास्थल जे देखियो

पाकिस्तान

सामाजिक सञ्जालमा देखा परेको र बीबीसीले प्रमाणित गरेको एउटा भिडिओमा विस्फोटनपछि पर्खालको आधा भागभित्र पसेको देखिन्छ।

उक्त भिडिओमा मस्जिदभरि इँटा र भग्नावशेष छरिएको र भाग्न खोज्ने मानिसहरू त्यहीँ लडिरहेको देखिन्छ।

विस्फोट भएको केही घण्टापछि बीबीसी न्यूजले घाइतेहरूले भरिएको एउटा भवन देख्यो। त्यहाँ धेरै घाइतेहरू प्रहरीकै बर्दीमा थिए।

घटनास्थल

कतिपयलाई जलन हुँदा लगाउने मलहम लेपन गरिदिइएको थियो। उनीहरूको छाला जलनका कारण रातो भएको थियो। भग्नावशेष लागेर कतिपयको हड्डी भाँचिएको छ।

एक व्यक्तिले विस्फोटको आवाजका कारण आफूले अझै सुन्न नसकेको बताए। अर्का एक जनाले भग्नावशेषमा फसेको करिब एक घण्टापछि मात्र आफ्नो उद्धार गरिएको बताए।

पाकिस्तानका प्रधानमन्त्री आपत्कालीन भ्रमणका लागि पेशावर पुग्नुभएको छ। त्यहाँ उहाँले स्थानीय अधिकारीहरूसंग घटनासम्बन्धी जानकारी लिनुहुनेछ।

शरिफले घाइतेहरूलाई पनि भेट्ने कार्यक्रम छ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले आक्रमणको निन्दा गर्नुभएको छ।

“प्रार्थनास्थलमा यस्तो आक्रमण गर्नु घृणित कार्य हो”, उहाँका प्रवक्ताले भन्नुभएको छ।

पेशावर

महत्त्वपूर्ण कार्यक्रमहरू सुरु हुनुअघि आक्रमण
पाकिस्तानी कूटनीतिका लागि महत्त्वपूर्ण मानिएको साताको आरम्भमै उक्त आक्रमण भएको हो।

संयुक्त अरब इमिरेट्सका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यान इस्लामाबादको सोमवार भ्रमण गर्ने तयारीमा हुनुहुन्थ्यो। मौसमी प्रतिकूलताका कारण अन्तिम समयमा उहाँको यात्रा रद्द गरिएको थियो।

मङ्गलवारदेखि अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रतिनिधिमण्डलले पाकिस्तानलाई ऋण तिर्न नसक्ने अवस्थामा पुग्नबाट रोक्नको लागि आर्थिक सहयोगको प्रक्रिया सुरु गर्न त्यहाँ भ्रमण गर्दैछ।

गत मार्च महिनामा पनि पेशावरमा बम आक्रमणको भएको थियो जसमा परी सुन्नी मुस्लिमको बाहुल्य रहेको देशमा शिया मुस्लिम मस्जिदमा रहेका दर्जनौँको ज्यान लियो।

राजधानी इस्लामाबादमा प्रहरीले उच्च सतर्कता जारी गर्दै सहरका सबै प्रवेश र निकासबिन्दुहरूमा सुरक्षा व्यवस्था कडा बनाइएको बताएको छ।

Share Now

Leave a comment.