काठमाडौं, १८ माघ । मलेसियाको न्यून लागत एयरलाइन्स एयर एसियाले नेपालमा नियमित उडान पुनः सञ्चालनका लागि कुटनीतिक प्रक्रिया सुरु गरेको छ।
एअर एशियाको पुनः उडानका सम्बन्धमा नेपालका लागि मलेसियन राजदूत र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीबीच फेब्रुअरीमा औपचारिक छलफल हुन लागेको छ ।
सात महिनाअघि एयर एसियाकै भगिनी कम्पनी थाइ एयर एसियाको नियमित उडान प्रक्रिया सुरु गरेको थियो। तर यो कम्पनी र नागरिक उड्डयन प्राधिकरणबीच सिधा सम्पर्क भएपनि प्रक्रिया अघि बढ्न सकेको थिएन।
कम्पनीले त्यतिखेर विमानस्थल सेवाशुल्क वापत तिर्न बाँकी १८ करोड रुपैयाँ किस्तामा तिर्दै जाने जनाएको थियो। तर यसका लागि नेपालका लागि नयाँ आधिकारिक टिकट बिक्रेता कम्पनी ‘जिएसए’ इच्छुक नरहेपछि प्रक्रिया लम्बिएको थियो।
करिब चार वर्ष अगाडि यो कम्पनीले साताको सात उडान गर्दै आएको थियो।
कोभिड संक्रमण नियन्त्रणमा आएसँगै श्रम गन्तव्य खुला भएपछि यो कम्पनीले नेपालतर्फ नियमित उडान सेवा दिने योजना अगाडि बढाएको छ।
हाल नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, एयर अरेबिया, जजिरा एयरलाइन्स, कतार एयरवेज, मलेसियन एयरलाइन्स, फ्लाइ दुबई, मालिन्दो लगायत अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले मलेसिया नियमित उडान सेवा दिँदै आएका छन्।


















