धनगढी(कैलाली), १९ माघ । कैलाली प्रतिनिधि सभा क्षेत्र नं. २ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउप्रति उनको पार्टीले भर्त्सना गरेको छ।
सरकार र तत्कालीन आन्दोनकारी थरुहट(थारुवान पक्षबीच २०६६ भाद्र ३ गते समझदारी भ्रइसकेकोविषयलाई बल्झाएर सांसद चौधरीलाई नियन्त्रणमा लिएको भन्दै नागरिक उन्मुक्तिले भर्त्सना गरेको हो।
नागरिक उन्मुक्तिले सांसद चौधरीलाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको छ।
त्यसअवधिमा सांसद चौधरी रिहा नभए आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरुलाई उन्मुक्तिले निर्देशन जारी गरेको छ।
‘उनी २०६६ देखि आजसम्म कहि कतै फरार नरहेको, यसबीचमा उनी ४ पटक स्थानीय, प्रदेश र संघका सबै निर्वाचन लडेका छन्,’ पार्टी प्रवक्ता दामोदर पण्डितद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘त्यो बीचमा राज्य तथा निर्वाचन आयोग के हेरेर बसेको थियो ? आज नागरिक उन्मुक्ति पार्टीबाट धिमा विजय पश्चात यो मुद्रा किन उदयो र पूर्वाग्रहि आँखाले किन हेरियो?’
नागरिक उन्मुक्ति पार्टीले सम्पूर्ण आदिवासी थारुजाति र पहिचानवादीहरूमाथिको विभेदपूर्ण कार्य भएको को ठहर गरेको छ।
‘हामी सरकारलाई र सम्बन्धित निकायलाई २४ घण्टाभित्र रिहा नगरे, त्यसपछिका घटनामा आफैँ घट्ने घटनाको परिणामको दोषी सरकार र सम्बन्धित निकाय हुनेछ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस घटनाले नागरिक उन्मुक्ति पार्टी र पहिचानवादीमा ठूलो आघात परेको महसुस गरेको छ। हामीलाई जबरजस्त आन्दोलनमा जाने धकेल्ने प्रयास नगरियोस्।


















