Prakash Adhikari February 3, 2023

काठमाडौं, २० माघ । गत डिसेम्बर २५ मा रूपक भट्ट ( नाम परिवर्तित) ले काठमाडौंको ग्रान्डी इन्टरन्याशनल अस्पतालमा कोरोनाभाइरसविरुद्ध बुस्टर डोज वितरण भइरहेको खबर पाए। अघिल्लो मात्रा लगाएको केही समय बितिसकेकाले उहाँ पुनः बुस्टर डोज लगाउने लाममा लाग्नुभयो।

फाइजर खोप लगाएर निस्कँदै गर्दा भट्टलाई त्यहीँ खटेका कर्मचारीले जानकारी दिए, यो खोपको म्याद गुज्रिएको छ है।

“त्यसपछि त मनमा चिसो पस्यो। केही असर गरिहाल्छ कि भन्ने डरले स्वास्थ्यकर्मी र स्वास्थ्य मन्त्रालयका केही मानिससँग सम्पर्क गर्ने प्रयास गरेँ,” उहाँले आफ्नो अनुभव सुनाउनुभयो।

खोप लगाएको भोलिपल्टसम्म भट्टले कहीँबाट उक्त खोपसम्बन्धी कुनै जानकारी पाउनुभएन। त्यतिन्जेल उहाँ बिरामी परिसक्नुभएको थियो।

“खोप लगाएपछि सामान्यतया केही असर देखिन्छ नै तर म्याद गुज्रेको खोप भनेपछि म आफैलाई मनोवैज्ञानिक असर पर्‍यो,” भट्टले भन्नुभयो।

केही दिनपछि उहाँलाई स्वास्थ्य मन्त्रालयका एक जना कर्मचारीले एक पत्रको तस्बिरसहित “उक्त खोपले नकारात्मक असर नपार्ने” जानकारी दिनुभयो। त्यसपछि बल्ल उहाँले केही राहत महसुस गर्नुभयो।

गत पौष महिनाको पहिलो सातादेखि सिराहा जिल्लाका विभिन्न खोप केन्द्रहरूमा फाइजरको सोही खोप वितरण भयो। त्यहाँका विद्यार्थीहरूले आफूले लगाएको खोपको म्याद सकिएको गुनासो गरेकोबारे नयाँ पत्रिका दैनिकले सामाचार प्रकाशित गरेको थियो।

त्यहाँ पनि उक्त खोप वितरण गर्नुको प्रमुख आधार थियो स्वास्थ्य कार्यालयबाट जारी भएको त्यही पत्र। जसमा कोभिड १९ विरुद्ध खोपको “सेल्फ लाइफ भएको” जनाइएको छ।

पत्रमा के छ ?
कार्तिक महिनाको अन्त्यतिर उक्त पत्र जारी हुँदा नेपालमा सन् २०२२ को अक्टोबर र नोभेम्बरमा म्याद गुज्रने फाइजर खोपहरू उपलब्ध थिए। परिवार कल्याण महाशाखालाई उद्धृत गर्दै ती खोपलाई “अल्ट्रा कोल्ड चेनमा राखेर सेल्फ लाइफ कायम गर्न सकिने” पत्रमा उल्लेख गरिएको छ।

कोल्ड चेन अर्थात् अत्यधिक चिसोमा औषधिजन्य सामग्री भण्डारण गर्ने प्रक्रिया हो। अल्ट्रा कोल्ड चेनमा औषधि वा खोपलाई माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्छ।

पत्रका अनुसार अल्ट्रा कोल्ड चेनमा राखेको खण्डमा मिति सकिएको तीन महिनासम्ममा ती खोप प्रयोग गर्न मिल्छ। जस्तै, “सन् २०२२ म्याद गुज्रने खोप सन् २०२३ को फेब्रुअरीभित्र प्रयोग गर्न सकिन्छ,” पत्रमा लेखिएको छ।

पत्रमार्फत खोप लगाउने अनुमति सिराहासहित अन्य जिल्लाका स्वास्थ्य कार्यालयलाई प्राप्त भएको बताउँनुहुन्छ सिराहा जिल्ला कार्यालयका प्रमुख कृष्णदेव यादव।

“हामी झुक्किएका होइनौँ। परिपत्र भएपछि जिल्ला स्तरीय कोभिड खोप सञ्चालन समन्वय व्यवस्थापन समितिमार्फत निर्णय गरायौँ र अभियानको हिसाबले ८ वटा पालिकामा चलाएका हौँ,” उहाँले प्रस्ट्याउनुभयो।

“ती खोपको थप भएको म्याद माघ १७ गतेसम्म थियो। यो हाम्रो जिल्लामा मात्र होइन देशैभरि चलाइएको खोप हो।”

सूचना

डब्लूएचओ के भन्छ ?

विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओका अनुसार अन्य औषधिजन्य उत्पादनहरूको जस्तै खोपको पनि निश्चित म्याद र भण्डारण आयु उत्पादकले तय गर्छन् र नियामक निकायले स्वीकृत गर्छन्‌।

कोभिड १९ महामारीको अत्यावश्यकतालाई मध्यनजर गर्दै आस्ट्राजेनेका कोभिशिल्ड लगायत अन्य धेरै खोपहरूलाई प्रारम्भिक आपत्कालीन प्रयोगको लागि प्रमाणीकरण गरिएको थियो। त्यस बेला नियामक‌ निकायहरूसँग खोपको म्याद तय गर्नका लागि छ महिनाको तथ्याङ्क मात्र उपलब्ध रहेको डब्लूएचओको वेबसाइटमा जनाइएको छ।

“विश्व स्वास्थ्य सङ्गठनबाट आपत्कालीन प्रयोगको अनुमति पाएका र सूचिकृत भएका सबै खोपहरूको भण्डारण आयु र प्रयोगयोग्य अवधि बढाउन उत्पादकहरूले दिएको तथ्याङ्कको समीक्षा गरिन्छ। त्यसपश्चात् समीक्षाको नतिजा सबै राष्ट्रहरूको राष्ट्रिय नियामक निकायहरूलाई वितरण गरिन्छ जसले आफ्नो देशका लागि थप निर्णय गर्छन्।“

कुनै पनि देशको राष्ट्रिय नियामक निकायले त्यहाँ कोभिड(१९ खोप लगाउन स्वीकृति दिएपछि “सबै परिवर्तनहरूको निरीक्षण गर्नुपर्ने र निरीक्षणका क्रममा खोपको भण्डारण आयु र म्यादलाई प्रभाव पार्ने परिवर्तनहरूको पनि विश्लेषण गर्नुपर्ने” जनाइएको छ।

तथ्याङ्क
भण्डारण आयुले निश्चित तापक्रममा रहँदा खोपले आफ्नो प्रभावकारिता कति समयसम्म कायम राख्न सक्छ भन्ने कुरा सङ्केत गर्ने डब्लूएचओले उल्लेख गरेको छ। “भण्डारण आयुले उत्पादित खोपको म्याद स्थापित गर्न सहयोग गर्छ। म्यादले खोपको सुरक्षामा प्रभाव पार्दैन, तर खोपले कतिसम्म सुरक्षा दिन्छ भन्ने कुरासँग सम्बन्धित हुन्छ।“

विज्ञहरूको सुझाव अनुरूप निर्णयः स्वास्थ्य प्रवक्ता

डब्लूएचओको प्रावधान, नेपालको सरकारद्वारा गठित खोपसम्बन्धी विज्ञ समूह र अन्य विज्ञहरूको सुझाव अनुरूप अक्टोबर नोभेम्बरमा म्याद सकिएको खोपको मिति तीन महिना थप गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर सञ्जयकुमार ठाकुरले बताउनुभएको छ।

ं”मैले पनि म्याद गुज्रिएको खोप भन्ने सुन्नासाथ परिवार कल्याण महाशाखामा बुझेँ। खोप सल्लाहकार समितिका विज्ञहरूले नै कुनै असर नपर्ने बताएपछि वितरण गरिएको बताउनु भयो,” ठाकुरले भन्नुभयो।

के भन्छन् विज्ञ ?
खोपसम्बन्धी विज्ञ समूहका डा. रमेशकान्त अधिकारी भने नेपालमा आएका खोपहरूमध्ये कुन खोप तोकिएभन्दा बढी समय प्रयोग गर्न मिल्छ भन्ने यकिन नभएको बताउँनुहुन्छ।

“उत्पादकहरूले वैज्ञानिक अध्ययनका आधारमा आफ्नो खोपको प्रभावकारिताबारे डब्लूएचओलाई तथ्याङ्क बुझाउनु पर्छ। सायद, त्यो जानकारी मन्त्रालयमा आएको होला तर हामीलाई थाहा हुँदैन,” उहाँले भन्नुभयो।

यद्यपि, खोप तथा अन्य औषधिहरू प्राय म्याद गुज्रिएको केही अवधिसम्म प्रभावकारी रहने उहाँले बताउनुभयो। त्यस्ता औषधिजन्य सामग्री डब्लूएचओले “अफ लेबल” भनेर प्रमाणीकरण गर्नुपर्ने डा. अधिकारीले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो,”त्यसैले नेपालमा दिइएको खोप पनि मिति सकिनासाथ प्रभाव शून्य भएका हुँदैनन्। लगाउनेलाई कम प्रभाव पार्ला तर नकारात्मक असर चाहिँ गर्दैन।”

तर, त्यसरी म्याद गुज्रिएको खोपले कोभिड १९ सङ्क्रमणविरुद्ध सुरक्षा भने सुनिश्चित नगर्ने बताउनुभयो।

खोप कार्यक्रम

मन्त्रालयकै कुरा बाझियो
स्वास्थ्य कार्यालयले जारी गरेको पत्र र स्वास्थ्य प्रवक्ताका स्वीकारे पनि स्वास्थ्य सचिव भने फाइजर खोपको म्याद थप गरिएको कुराको खण्डन गनुभयो।

“हामीले म्याद गुज्रने बित्तिकै खोपहरू फाल्छौँ। त्यसैले म्याद गुज्रिएको खोप चलाउने कुरै छैन। हामीले कसरी लाइफ एक्सटेन्ड गर्ने ? जे मिति छ त्यसैको आधारमा चलाउने हो नि,” सचिव डा. रोशन पोखरेलले भन्नुभयो।

उहाँका अनुसार अहिले सरकारसँग सिनोभ्याकको ४० लाख खोप मात्र छ। त्यसको म्याद अझै एक वर्ष बाँकी छ तर बुस्टरको रूपमा दिन नमिल्ने भएकाले उक्त खोप प्रयोग गरिएको छैन। (बीबीसी नेपाली सेवाबाट)

Share Now

Leave a comment.