Prakash Adhikari February 3, 2023

ब्रसेल्स(बेल्जियम), २० माघ । नेपाल र बेल्जियम दोस्रो संयुक्त आयोगको बैंठक बेल्जियमा सम्पन्न भएको छ ।

बैठक जलवायु परिवर्तन र दिगो विकासका लक्ष्यहरुको बारेमा केन्द्रित रहेको जनाइएको छ ।

ब्रसेल्सस्थित नेपाली दूतावासका अनुसार उक्त बैठकमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयकी सहसचिव तथा युरोप–अमेरिका महाशाखाकी प्रमुख सेवा लम्साल, सोही शाखाका उपसचिव हरि ओडारी र बेल्जियमस्थित नेपाली दूतावासका उपप्रमुख सुरेश अधिकारी उपस्थित हुनुहुन्थ्यो भने बेल्जियमको तर्फबाट एसिया–ओसियन विभागका निर्देशक राजदूत कोर्नेट डी’इलजियसको नेतृत्वमा रहेको टोली थियो ।

नेपाली दूतावासद्वारा जारी विज्ञप्ति अनुसार उक्त संयुक्त आयोगको बैठकमा जलवायु परिवर्तन र दिगो विकास लक्ष्यहरू जस्ता विश्वव्यापी मुद्दाहरूमा संलग्न हुने विषयमा पनि आदान–प्रदान भएको थियो ।

भेटका क्रममा दुई पक्षले द्विपक्षीय सम्बन्धका सबै पक्षको समीक्षा गरेको थियो । दुई देशबीचको सहकार्यलाई थप प्रवर्द्धन गर्ने विषयमा विचार आदानप्रदान गरेको दूतावासले जनाएको छ ।

नेपाली पक्षले सन् २०२६ मा देशको एलडीसी (अतिकम विकासशील मुलुक) स्थितिबाट उत्तिर्ण हुने र अहिलेको संक्रमणकालको रणनीति तयारीबारे जानकारी दिएको थियो । साथै, नेपाली पक्षले बेल्जियमलाई सहयोगका उपायहरूलाई निरन्तरता दिन आग्रह गरेको थियो ।

 

दुवै पक्षले व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने र जनस्तरमा सम्पर्क प्रवर्द्धन गर्ने विभिन्न उपायबारे छलफल गरेका गरेका छन् । आपसी हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा पनि छलफल भएको दूतावासले जनाएको छ

Share Now

Leave a comment.