काठमाडौं, २० मा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने आजदेखि त्रिदेशीय क्रिकेट प्रतियोेगिताको बन्द प्रशिक्षणमा अभ्यासरत छन् ।
नेपाल क्रिकेट संघ (क्यान )ले फेब्रुअरी १४ तारिख देखि घरेलु मैदानमा सुरु हुने आईसीसी विश्वकप लिग २ अन्तर्गतको स्कटल्याण्ड र नामिबियासंग हुने त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको बन्द प्रशिक्षणको लागि घोेषणा गरेको २० सदस्यीय टिममा सन्दीप पनि परेका छन् ।
सन्दीपलाई राष्ट्रिय टिममा चयन गर्नु अगाडि पौष १७ गते पोखरामा बसेको नेपाल क्रिकेट एशोसिएसनको बोर्ड बैठकले सन्दीपलाई गरिएको निलम्बन फुकुवा गरेको थियो ।
यस अघि घोषित २८ सदस्यीय टिममा नरहेका सन्दीपलाई बुधबार पोखरामा सम्पन्न क्यानको बैठकले निलम्बन फुकुवा गरेपछि समाबेश गरिएको हो।
सन्दीपले अन्तिम पटक नेपाली राष्ट्रिय टिमको लागि गत वर्ष अगस्टमा केन्याविरुद्ध खेलेका थिए। नाबालिका करणीको आरोप लागेपछि उनलाई गत भदौ २३ गते क्यानको कार्यसम्पादन समितिले निलम्बन गर्ने निर्णय गरेको थियो ।
पहिलो चरणको बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु मध्ये शरद भेसावकर, बिनोद भण्डारी, अंकित सुबेदी, भुवन कार्की, बिक्रम सोब, सिद्धान्त लोहनी, सागर ढकाल, अनिल शाह, बिबेक यादव र अविनाश बोहरालाई दोश्रो चरणमा टिममा राखिएको छैन।
युवा लेग स्पिनर मौसम ढकाल र देब्रे हाते स्पिनर सुर्य तामांगले बन्द प्रशिक्षणमा निरन्तरता पाएका छन्।
यस अघि बन्द प्रशिक्षणमा नरहेका देब्रे हाते फास्ट बलिंग अलराउण्डर प्रतिश जिसीलाई प्रशिक्षणमा समाबेश गरिएको छ। अन्डर १९ राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरिसकेका जिसी आक्रामक ब्याटिंग समेत गर्न सक्छन्। फास्ट बलिंगतर्फ अनुभवि करन केसी र सोमपाल कामीसंगै कमलसिंह ऐरी र किशोर महतो समावेश छन्।
बन्द प्रशिक्षणको लागि घोषित २० सदस्यीय टिममा राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, कुशल भूर्तेल, आसिफ सेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र ऐरी, गुल्सन झा, करन केसी, सन्दीप लामिछाने, ललित राजवंशी, सन्दीप जोरा, भीम शार्की, प्रतिश जिसी, कमलसिंह ऐरी, किशोर महतो, मौसम ढकाल, सस्र्य तामांग, सोमपाल कामी र अर्जुन साउद रहेका छन् ।
नेपाल, स्टकल्यान्ड र नामिविया सम्मिलित सिरिज फेब्रुअरी १४ देखि २१ तारिखसम्म हुनेछ । सिरिजको खेल तालिका यसअघिनै सार्वजनिक भएको छ ।
नेपालले सिरिजको पहिलो खेल नामिबियासँग १४ तारिख, दोस्रो खेल स्टकल्यान्डसँग १७ तारिख, नामिबियासँग पुन १८ तारिख र स्टकल्यान्डसँग २१ तारिख खेल्नेछ ।
सिरिजमा हालसम्म २४ खेल खेलेको नेपाल १८ अङ्कसहित छैटौँ स्थानमा छ । ३२ खेलमा ४६ अङ्क बनाएको स्कटल्यान्ड शीर्षस्थानमा छ भने ३० खेलबाट ३७ अङ्क बनाएको नामिवबिया तेस्रो स्थानमा छ । लिगमा सहभागी सात टोलीले एक आपसमा कुल ३६ खेलपछि सिरिजको शीर्ष तीनमा रहने टोली सन् २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।



















