काठमाडौं, २२ माघ । रवि लामिछानेको नेतृत्व रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा आज बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
अवैध नागरिकताका आधारमा पार्टी दर्ता गराएर, चितवनबाट उम्मेदवारी दिएर निर्वाचित भएर उपप्रधानसहित गृह मन्त्री बन्नुभएका लामिछानेको नागरिकताको वैधानिकताका सम्बन्धमा परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले सो नागरिकता अवैध भन्दै त्यसका आधारमा भएका निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य र त्यसका आधारमा प्राप्त गृहमन्त्री तथा सांसदको जिम्मेवारीबाट मुक्त गरेको थियो ।
सर्वोच्चको निर्णयसंगै उपप्रधानसहित गृहमन्त्री र सांसद पद गुमाउनुभएका रविले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पुनः प्राप्ति गरेपछि गैरसांसदको हैसियतमा पुनः गृह मन्त्री दावी गर्नुभएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहालले उहाँको दोहोरो राहदानीको विषयमा प्रश्न उठेको र सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ पनि नआएको भन्दै उहाँलाई गृहमन्त्रालय दिन नसकिने बताएर निराश बनाउनुभएको थियो ।
प्रधानमन्त्री दाहालमाथि पार्टीबाट पनि सत्ताका लागि अनावश्यक संझौता नगर्न दवाव आएकै समयमा आज बिहान पनि रास्वपाका अध्यक्ष लामिछानेले प्रधानमन्त्रीलाई भेटेर गृहमन्त्रालयमा नियुक्ति दिने कि नदिने भनेर अन्तिम इशारा कुुर्नुभएको थियो । प्रधानमन्त्रीले उहाँलाई मात्र हैन, रास्वपालाई नै गृहमन्त्रालय दिन नसकिने बताएपछि उहाँले आज पार्टीको केन्द्रीय समितिबाट ठोस निर्णय हुने र त्यसपछि विशेष पत्रकार सम्मेलन गरिने जानकारी गराउनुभएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको रास्वपाभित्र सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे मतभेद देखिएको थियो। सोही विषयमा छलफल गर्नका लागि शनिबार राति अबेरसम्म बैठक बसेको थियो।
त्यसपछि आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। यसबारे आधिकारिक जानकारी दिनका लागि सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्नुभएको छ ।


















