काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाउनुभएको छ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर रास्वपाको तर्फबाट मन्त्रिपरिषदमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाउनुभएको हो।
आइतबार दिउँसो बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको सयुक्त बैठकले सरकारलाई दिएको समर्थन कायम राख्दै पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
पार्टीको निर्णय लगत्तै रास्वपाका तीन मन्त्रीले प्रधानमन्त्री समक्ष राजीनामा बुझाउनु भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री प्रचण्डलाई आफ्ना सभापति रवि लामिछानेलाई गैरसांसद कोटाबाट पुनः गृहमन्त्री नियुक्त गर्न शनिवारसम्मको अल्टिमेटम दिएको थियो ।
आइतबार बिहान सो पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री दाहालसंग भेट गर्दा पनि उहाँ सर्वोच्चको फैसलाको पूर्ण पाठ नआएको, दोहोरो राहदानी लिएको विषयको विवाद किनारा नलागेको र पार्टीभित्र गृह मन्त्रालय प्रधानमन्त्रीको पार्टीले नै राख्नुपर्छ भन्ने दबाब आएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्रालय दिन तत्पर देखिनुभएन ।
प्रधानमन्त्रीसंगको भेट फलदायी नभएपछि रास्वपाका अध्यक्ष रविले ट्वीटरमार्फत आज पार्टीको केन्द्रीय समितिले ठोस निर्णय गर्ने र त्यसपछि आफूले विशेष पत्रकार सम्मेलन गर्ने जानकारी दिनुभएका थियो ।
तीन मन्त्रीको राजिनामा संगै कान्छो पार्टीको पहिलो सत्ता यात्रा टुंगिएको छ ।


















