काठमाडौं, २२ माघ । नागरिक उन्मुक्ति पार्टीका नेता एवम् पूर्व सांसद रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउन आदेश दिएको छ ।
नेता चौधरीले आफूविरुद्ध जन्मकैदको फौसला खारेज हुनुपर्ने माग राखेर सर्वोच्चमा रिट निवेदन दर्ता गर्नुभएको थियो ।
उक्त मुद्दाको आइतबार न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले सुनुवाइ गर्दै प्रत्यर्थी झिकाउने आदेश दिएको हो ।
सर्वोच्चले आइतबार नै चौधरीविरुद्ध सरकारले दर्ता गरेको मुद्दामा पनि प्रत्यर्थी झिकाउने नै आदेश दिएको छ ।
सर्वोच्चको प्रत्यर्थी झिकाउने आदेशसँगै यस मुद्दामा अब पुनः बहस तथा सुनुवाइ हुनेछ । बहसपछि मिसिल र प्रमाणको अध्ययन हुनेछ ।
वि।सं। २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा प्रहरी वरिष्ठ उपरीक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका पाँच जना तथा सशस्त्रका दुई र एक बालकसहित आठ जनाको मृत्यु भएको थियो ।
कर्तव्य ज्यानको मुद्दामा रेशमलाल चौधरीसहित सिताराम चौधरी, हरिनारायण चौधरी, गंगाराम डगौरा चौधरी, वीरबहादुर चौधरी, श्रवण चौधरी, चुन्नीराम चौधरी, रामकुमार कठरिया, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा चौधरी, राजेश चौधरी, प्रदीप चौधरी र लक्ष्मण थारुले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा निवेदन दिनुभएको थियो ।
आफूहरुविरुद्ध कर्तव्य ज्यानको कसुरमा जन्मकैदको फैसला भएपछि त्यसविरुद्ध सर्वोच्चमा सबैले पुनरावेदन गर्नुभएको थियो।
टीकापुर घटनामा जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले मुख्य अभियुक्त भनिएका रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो ।
यसअघि तीन पटक पेशी तोकिए पनि सर्वोच्चमा सुनुवाइ हुन सकेको थिएन।


















