Prakash Adhikari February 6, 2023

एलिस डेभिस र जोशुआ सीथम /बीबीसी न्यूज

किएभ(युक्रेन), २३ माघ । युक्रेनका निवर्तमान रक्षामन्त्रीले यसै महिनाको अन्त्यतिर देशमा नयाँ रुसी आक्रमण अपेक्षित रहेको बताएका छन्।

त्यतिन्जेल सम्पूर्ण पश्चिमी अस्त्रहरू नआइपुगे पनि रुसी सेनालाई रोक्न युक्रेनसँग पर्याप्त भण्डारण रहेको अलेक्सी रेज्निकोफले एक पत्रकार सम्मेलनमा बताउनुभएको छ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वमा रहेको बाख्मुत, वुहलेदार र लिम्यानमा सेनाहरूबीच व्यापक लडाइँ भइरहेको बताउनुभएको छ।

रक्षामन्त्री परिवर्तन हुने घोषणा हुनुभन्दा केही घण्टा अघि मात्र रेज्निकोफले नयाँ आक्रमणबारे प्रतिक्रिया दिनुभएको थियो।

जेलेन्स्कीको दलका एक युक्रेनी राजनीतिज्ञका अनुसार उहाँको ठाउँमा सैन्य गुप्तचर प्रमुख किरिलो बुडानोभ नियुक्त हुनुहुनेछ।

रक्षामन्त्रालयमा भ्रष्टाचारसम्बन्धी घटनाको शृङ्खलाकाबीच यो परिवर्तन भएको हो।

केही रक्षा अधिकारीहरूले सेनाका लागि खाद्यान्न खरिदका लागि तय गरिएको कोष हिनामिना गरेको आशङ्कासहित विवरणहरू सार्वजनिक भएका थिए। रेज्निकोफले ती विवरणको खण्डन गर्नुृभएको छ।

युक्रेनी सांसद डेभिड अरखामियाले आइतवार ूयुद्धले कर्मचारी सम्बन्धी नीतिहरू निर्देशित गर्नेू बताउँदै फेरबदलको घोषणा गर्नुृभएकोे छ।
युक्रेनमा पश्चिमी हतियार ल्याउने प्रयासमा खटिएका रेज्निकोफले अब ुस्ट्रयाटिजिक इन्डस्ट्रीजु मन्त्रीको जिम्मेवारी वहन गर्नु हुनेछ।

राष्ट्रपति जेलेन्स्कीले भ्रष्टाचार विरोधी अभियानका रूपमा धेरै वरिष्ठ अधिकारीहरूलाई बर्खास्त गरिसक्नुभएको छ।

यसअघिको पत्रकार सम्मेलनमा रेज्निकोफले तत्काल नयाँ आक्रमण गर्न रुससँग स्रोतहरू तयार नरहेको बताउनुुभएको थियो। तर, फेब्रुअरी २४ मा मस्कोले पूर्ण रूपमा आक्रमण सुरु गरेको एक वर्षको पुगेको उपलक्ष्यमा त्यसो गर्न सक्ने बताउनुभएको हो।

उहाँका अनुसार रुसले पूरै पूर्वी डोनबास कब्जा गर्नुका साथै युक्रेनको दक्षिणी भेगमा आक्रमण सुरु गर्ने ठानिएको छ।

रक्षामन्त्रीले सोमवारदेखि युक्रेनी सेनाले जर्मन निर्मित लेपर्ड टू ट्याङ्कको तालिम सुरु गर्ने जानकारी दिनुभएको छ।

रेज्निकोफले युक्रेनले १५० किलोमिटर परसम्म प्रहार गर्नसक्ने लामो दूरीका नयाँ क्षेप्यास्त्रहरू सुरक्षित गरेको तर ती रुसी भूभागमा प्रयोग नगरिने बताउनुभयो। उहाँका अनुसार ती युक्रेन नियन्त्रित रुसी एकाइहरू विरुद्ध मात्र प्रयोग गरिने छ।

“म हामीले यो युद्ध जित्ने कुरामा ढुक्क छु”, रेज्निकोफले भन्नुभयो । तर, पश्चिमी लडाकु विमानहरू नआइपुगेको खण्डमा ‘अझै धेरै मानिसहरूले ज्यान गुमाउने’ उहाँले बताउनुभयो।

रक्षामन्त्री रेज्निकोफ

रक्षामन्त्री रेज्निकोफ

युक्रेनमा पश्चिमी हतियारहरूको प्रवाहका बाबजुद बाख्मुत क्षेत्रमा रुसको प्रभाव बढ्दो छ। उसले त्यहाँ थप सेनाहरू पठाइरहेको छ।

रुसमा भाडाको अर्धसैनिक समूह वाग्नरले यस क्षेत्रमा थुप्रै लडाइँहरूको नेतृत्व गरेको छ।

उक्त समूहका प्रमुख येभगेनी प्रिगोजिनका अनुसार सहरका केही क्षेत्रहरूमा सडकैपिच्छे भयानक लडाइँहरू भएका छन् र युक्रेनका सशस्त्र सेनाहरू ूजित्नको लागि हरेक प्रयास गरिरहेका छन्।“

रुसी सेनाले महिनौँदेखि बाख्मुत कब्जा गर्ने प्रयास गर्दै आएका छन्। रुसले करिब एक वर्षअघि युक्रेनविरुद्ध आक्रमण सुरु गरेपछिको यो सबैभन्दा लामो युद्ध हो।

डोनबास क्षेत्रलाई आफ्नो पूर्ण नियन्त्रणमा लिने रुसी उद्देश्यको पूर्तिका लागि उक्त भूभाग कब्जा गर्नु उसको लागि निकै महत्त्वपूर्ण छ।

यसले हालैका महिनाहरूमा युक्रेनमा प्रभाव गुमाएको रुसको भाग्य परिवर्तनको समेत सङ्केत गर्न सक्छ।

आफ्नो रात्रिकालीन सम्बोधनका क्रममा राष्ट्रपति जेलेन्स्कीले भन्नुभएको छ “डोनेट्स्क क्षेत्रमा भयङ्कर युद्धहरू भइरहेका छन् र परिस्थिति कठिन छ।”

तर, आफूहरूसँग “आफ्नो रक्षा गर्नु र जित्नुको विकल्प नभएको” उहाँले बताउनुभयो।

यूकेको रक्षा मन्त्रालयले रुसी सेनाले बाख्मुतलाई घेरा हाल्दै जाँदा युक्रेनी सेनाहरू झन्झन् दबिँदै गएको जनाएको छ। उसका अनुसार त्यहाँ जाने दुई मुख्य सडकहरूमा आक्रमणको खतरा रहेको छ।

फरक घटनाक्रममा उत्तरपूर्वी सहर खार्किभमा आवासीय भवनहरूमा भएको आक्रमणमा पाँच जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन्।

त्यस्तै डोनेट्स्क क्षेत्रमा रकेट आक्रमणको क्रममा अन्य पाँच जना घाइते भएका क्षेत्रीय नेता पाभ्लो किरिलेन्कोले बताउनुभएको छ ।

Share Now

Leave a comment.