Prakash Adhikari March 29, 2018

काठमाडौं, १५ चैत्र (बीबीसी) । विदेशमा मृत्यु भएका नेपाली कामदारमध्ये अधिकांशको मुटुसम्बन्धी विभिन्न कारणले ज्यान जाने गरेको पछिल्लो आँकडाहरुमा देखिएको अधिकारीहरुले बताएका छन्।

गत आर्थिक वर्ष १ सय २८ जनाको यस खाले समस्याका कारण मृत्यु भएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको छ।

यसरी विदेशमा ज्यान जाने जोखिम कम गर्न भन्दै सरकारले कामदारका लागि विशेष अभिमुखीकरण तालिम दिने र रोजगारदाता मुलुकमा जानकारीमूलक कार्यक्रम सञ्चालन गर्ने गृहकार्य भइरहेको जनाएको छ।

तर नेपाली कामदारको अवस्था सुधार्न पर्याप्त कदम नचालेको भन्दै सरकारी निकायहरुको तीव्र आलोचना भएको छ।

संख्या

गत आर्थिक वर्ष ५ लाखभन्दा बढी नेपाली मलेसिया र तथा खाडी मुलुकका विभिन्न देशमा रोजगारीका लागि गएको सरकारी तथ्याङ्कले देखाउँछ।

तीमध्ये करिब ७०० जनाको विदेशमै रहँदा विभिन्न कारणले मृत्यु भएको जनाइएको छ।

तीमध्ये हृदयघात र मुटुले अकस्मात काम गर्न छाड्ने ‘सडन कार्डियाक अरेष्ट’का कारण १२८ जनाको मृत्यु भएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको छ।

नेपालको भन्दा भिन्न हावा पानी, कामको दबाब, बसोबासको बन्दोबस्त त्यत्ति राम्रो नभएको, परिवारबाट टाढा बस्दाको तनाव र थोरै पैसामा गुजारा चलाउनुपर्ने जस्ता कारण नै प्रमुख रुपमा जिम्मेवार देखिन्छ
रघुराज काफ्ले, कार्यकारी निर्देशक, वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड

यस्तै करिब १ सय जनाको सडक दुर्घटनामा ज्यान गएको र झण्डै ९० जनाले आत्महत्या गरेको सरकारी विवरण छ।

कारण

मृत्युको सम्भावित कारणबारे वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले भन्छन्, “नेपालको भन्दा भिन्न हावा पानी, कामको दबाब, बसोबासको बन्दोबस्त त्यत्ति राम्रो नभएको, परिवारबाट टाढा बस्दाको तनाव र थोरै पैसामा गुजारा चलाउनुपर्ने जस्ता कारण नै प्रमुख रुपमा जिम्मेवार देखिन्छ।”

मलेसिया, कतार र साउदी अरेबियामा कार्यरत धेरै नेपालीको मुटुसम्बन्धी समस्याका कारण मृत्यु हुने गरेको देखिएको छ।

स्वास्थ्य परीक्षण गरेर गएका नेपालीको यसरी मृत्यु हुनु आश्चर्यको विषय भएको कतिपय विज्ञ बताउँछन्।

परामर्श

वैदेशिक रोजगारसम्बन्धी विषयका एक जानकार गणेश गुरुङले भने, “हामीले विदेशमा गरेको अध्ययनका क्रममा वैदेशिक रोजगारीका क्रममा गएका कैयौं नेपालीहरुको मृत्यु सडन कार्डियाक अरेष्टकै कारण नभएको भेटेका थियौं। जहाजमा शव ल्याउन स्वास्थ्य परीक्षणको रिपोर्ट चाहिने भएकाले परीक्षणनै नगरी चिकित्सकले मृत्युको कारण सडन कार्डियाक अरेष्ट भएको लेखिदिएको भेटिएको थियो।”

सम्बन्धित देशसँग श्रम सम्झौता गर्दा त्यहाँ नेपाली कामदारको मृत्यु भए ‘पोष्टमोर्टम’ गर्ने व्यवस्था उल्लेख गरे मृत्यु हुनुको सही कारण पत्ता लाग्न सक्ने गुरुङले बताए।

जहाजमा शव ल्याउन स्वास्थ्य परीक्षणको रिपोर्ट चाहिने भएकाले परीक्षणनै नगरी चिकित्सकले मृत्युको कारण सडन कार्डियाक अरेष्ट भएको लेखिदिएको भेटिएको थियो
गणेश गुरुङ, वैदेशिक रोजगारसम्बन्धी विषयका जानकार

यस प्रकारको समस्या हल गर्ने प्रमुख उपाय बिदेशमा काम गर्न जाने काम नेपालीलाई राम्रो पूर्व परामर्श दिनु रहेको बताउँछन् वैदेशिक रोजगार विभागका महानिर्देशक भुवन प्रसाद आचार्य।

उनी भन्छन्, “नेपाली कामदार विदेश जानु अघिनै यहाँ दिइने अभिमुखीकरण तालिममा राम्रो मनोपरामर्श दिन सकेपने पनि केही मद्दत गर्छ।”

सरकारले हाल विदेशमा रोजगारीका लागि जाने कामदारका लागि हाल करिब ११ घण्टाको अभिमुखीकरण तालिम दिने गरेको छ।

अनुमान

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले विवरण राख्न थालेको झण्डै १० वर्षमा सबैभन्दा धेरै नेपाली कामदारको मृत्यु २०७१-२०७२ सालमा भएको देखिन्छ।

उक्त वर्ष करिब एक हजार नेपाली कामदारको शव विदेशबाट आएको थियो।

त्यस पछिको वर्षमा करिब ८ सय नेपाली कामदारको शव नेपाल ल्याइएको थियो।

यी यस्ता विवरण सरकारलाई प्राप्त जानकारीका आधारमा मात्रै भएकाले सम्बन्धित निकायलाई थाहा नभएको थुप्रै घटना समेट्दा विदेशमा मृत्यु हुने कामदारको संख्या अझ बढी हुनसक्ने कतिपय जानकार ठान्छन्।

Share Now

Leave a comment.