Prakash Adhikari February 9, 2023

ढाका(बंगलादेश), २६ माघ । नेपाली फुटबल टोलीले बंगलादेशमा जारी साफ यू २ै० महिला च्याम्पियनसिपको उपाधिका लागि आज (बिहीबार) आयोजक टोलीको सामना गर्दैछ ।
वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमाल स्टेडियममा खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ ।

राउन्ड रोविनका आधारमा भएको च्याम्पियनसिपमा शीर्ष २ टोलीबीच फाइनल हुन लागेको हो । अंकतालिकाको तेस्रो स्थानमा रहेको साविक विजेता भारत र भुटान च्याम्पियनसिपबाट बाहिरिसकेका छन् ।

बंगलादेश अपराजित रहँदै फाइनलमा पुगेको हो भने नेपालले ३ मध्ये २ खेलमा जित र १ खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा नै नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।

त्यसपछिका खेलमा नेपालले भुटानलाई ४–० र भारतलाई ३–१ ले हराएको थियो । भारतसँग गोलरहित बराबर खेलेको बंगलादेशले भुटानमाथि ५–० को जित निकालेको थियो ।

बंगलादेशले पछिल्लो समय फुटबलमा उच्च प्रदर्शन गरिएको छ । झण्डै ६ महिना अघि काठमाडौंको दशरथ रंगशालामा भएको सिनियर साफ महिला च्याम्पिनसिपमा नेपाललाई हराउँदै बंगलादेश पहिलो पटक च्याम्पियन बनेको थियो ।

उमेर समूहमा भने महिला च्याम्पियनसिप यसपटक यू २० को भइरहेको छ । यसअघि यू १९ र पहिलो र तेस्रो संस्करण यू १८ को भएको थियो ।

सन् २०१८ मा भुटानमा भएको पहिलो संस्करणमा फाइनल पुगेको नेपाल त्यति बेला पनि बंगलादेशसँग १–० ले पराजित भएको थियो । दुई वर्षअघि बंगलादेशमा भएको राउन्ड रोविनका आधारमा भएको यू १९ च्याम्पियनसिपमा नेपाल तेस्रो भएको थियो । गत वर्ष यू १८ का रुपमा च्याम्पियनसिप हुँदा पनि नेपाल तेस्रो भएको थियो ।

जारी च्याम्पियनसिपमा नेपाली टोलीकी अमिशा कार्कीले सर्वाधिक ४ गोल गरेकी छिन् । भुटानविरुद्ध ह्याट्रिक गरेकी उनले भारतविरुद्ध एक गोल गरेकी थिइन् । कप्तान प्रिती राईले पनि भुटान र भारतविरुद्ध समान १ गोल गरेकी थिइन् ।

अलग अलग उमेर समूह (यू १८,१९ र २०) को यो च्याम्पिनसिप जितेमा नेपालको पहिलो र बंगलादेशको भने तेस्रो उपाधि हुनेछ ।

Share Now

Leave a comment.