Prakash Adhikari February 10, 2023

काठमाडौं, २७ माघ ।नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो निर्देशनले नेपालको आकाश हुँदै उडान गर्ने विमानमा दूरसञ्चार सेवा उपलब्ध गराउन बाटो खोलिदिएको छ। तर त्यसबारे आफूहरू टुङ्गोमा पुगिनसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

इनफ्लाइट कम्युनिकेसन सर्भिसेस (आएफसी) सम्बन्धी एक निर्देशन जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटभन्दा बढी उचाइमा रहेर उडान भर्दा इन्टरनेट सुविधा प्रयोग गर्न सकिने गरी अनुमति लिएर वायुसेवा प्रदायकहरूले सेवा उपलब्ध गराउन पाउने व्यवस्था गरेको छ।

तर त्यस्तो सेवा उपलब्ध गराउन नागरिक उड्डयन प्राधिकरणको सिफारिस दूरसञ्चार प्राधिकरणमा बुझाउनुपर्ने हुन्छ।

विश्वका विभिन्न वायुसेवा प्रदायकहरूले यस्तो सुविधा उपलब्ध गराउँदै आएका छन्। नेपालको आकाशमा पनि विगत देखिनै विदेशमा दर्ता भएका विमानलाई दूरसञ्चार सेवा प्रयोग गर्न ‘नो अब्जेक्सन लेटर’ उपलब्ध गराइने गरेको अधिकारीहरू बताउँछन्।

‘‘नेपालमा दर्ता भएका वायुयानमा पनि त्यो (सुविधा) दिनुपर्‍यो भनेर गरेका हौँ। नेपालमा दर्ता भएका अनि विदेशमा दर्ता भएका विमानले नेपालको आकाशमा उड्दा विमान भित्रका यात्रुहरूलाई दूरसञ्चार सेवा दिन पाउने भए,’’ नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अम्बर स्थापितले भन्नुभयो।

अर्थात् अब नेपाल वायुसेवा निगम लगायतका कम्पनीहरूले पनि आफ्ना जहाजमा यस्तो सुविधा उपलब्ध गराउन बाटो खुलेको छ। उक्त कम्पनीले यस्तो सेवा आरम्भ गर्न चासो देखाएको बताइएको छ।

मोबाइल फोन

मोबाइल फोन

तर नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले नेपालको आकाशमा दूरसञ्चार सेवा उपलब्ध गराउन अनुमति दिने नदिने विषयमा निर्णय भइनसकेको जानकारी दिनुभयो।

नयाँ व्यवस्था अनुसार वायुसेवा प्रदायकले इन्टरनेट मात्रै नभएर मोबाइल फोन सेवा पनि उपलब्ध गराउन पाउने छन्।

‘‘एक दुई वटा विदेशी कम्पनीहरूले लिएका थिए यस्ता सेवा,’’ स्थापितले भन्नुभयो।

हाल सार्वजनिक गरिएको निर्देशिका आन्तरिक उडानको हकमा भने लागू नहुने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।

‘‘हालसम्म कुरा भएको छैन। अन्तर्राष्ट्रिय उडान (को अवस्था) हेरेर भविष्यमा आन्तरिक उडानमा पनि त्यो हुँदै जान्छ,’’ उहाँले भन्नुभयो।

नियामक निकायले सार्वजनिक गरेको निर्देशिका अनुसार आएफसी सेवा प्रदायकले स्याटलाइट अपरेटहरूबाट कनेक्टिभिटी प्राप्त गर्छ र विमानभित्र एक्सेस नेटवर्क सेट अप गर्छ।

आइएफसी सेवा प्रदायक राष्ट्रिय वा अन्तर्राष्ट्रिय हुन सक्छन् तर विमान दर्ता भएको मुलुकमा त्यसको कानुनी अस्तित्व भने हुनुपर्छ।

नेपालमा दर्ता भएका र विदेशमा दर्ता भएका गरी प्राधिकरणले हाल आइएफसी सेवा प्रदायकलाई दुई वटा वर्गमा छुट्ट्याएको छ।

कस्तो अवस्थामा नेपालको आकाशमा दूरसञ्चार सेवा दिन पाइन्छ ?

मोबाइल फोन

प्राधिकरणका अनुसार नेपालको आकाशमाथि १० हजार फिटभन्दा माथि उडान भर्दा मात्रै आइएफसी सेवा उपलब्ध गराउन पाइने छ।

१० हजारम फिट भन्दा तल उडान गर्दा, विमान ट्याक्सी गर्दा, उडान भर्ने अनि अवतरण गर्ने क्रममा नेपालभित्र यस्तो सुविधा दिन नपाइने व्यवस्था छ। तर यो सार्वजनिक सञ्चारको हकमा मात्रै लागु हुने बताइएको छ।

विमानहरूबीच अनि एरोनटिकल स्टेशनमा सम्पर्क स्थापित गर्न भने प्रमाणीकरण आवश्यक पर्ने बताइएको छ।

नेपालमा दर्ता भएका विमान अन्य देश माथि उड्दा सम्बन्धित देशबाट प्रमाणीकरण भएको हुनु पर्ने र त्यहाँको नियम पालना गर्नुपर्ने प्रावधान रहेको छ।

विमान १० हजार फिटमाथि उड्दा जमिनमा कुनै पनि किसिमको इन्टरफियरेन्स नहुने अधिकारीहरू बताउँछन्।

आन्तरिक उडान तर्फ यस्तो सेवा उपलब्ध गराउने विषयमा हाल अघि नबढाइएको भए पनि भविष्यमा त्यस्तो प्रावधान राख्न सकिने बताइएको छ।

निरौलाका अनुसार आन्तरिक उडान भर्ने साना विमान सात हजारदेखि ९ हजार फिटमाथि उड्छन्। तर एटीआर जस्ता विमान भने १२ हजार देखि २० हजार फिटसम्म उड्ने अधिकारीहरू बताउँछन्।

नेपालमा दर्ता भएका विमानका लागि के छ प्रावधान ?
नेपालमा दर्ता भएका विमानले आइएफसी सेवा उपलब्ध गराउनु प्राधिकरणमा निवेदन दिनुपर्ने हुन्छ। त्यसमा वाइफाइ वा सेलुलर कस्तो सेवा दिन चाहेको हो खुलाउनुपर्ने हुन्छ।

त्यस्तै कुन फ्रिक्वेन्सी प्रयोग गर्ने भन्ने कुरा पनि खुलाउनुपर्छ।

ु‘स्याटलाइटबाट सम्पर्क हुने भएकोले कुन ब्यान्डमा के गर्ने हो सूचना दिनुपर्छ। डेडिकेटेड फ्रिक्वेन्सी हुँदैन,’’ उहाँले भन्नुभयो।

कुन प्रविधि त्यसमा प्रयोग हुन्छ भन्ने कुरा पनि सम्बन्धित कम्पनीले उल्लेख गर्नुपर्ने हुन्छ।

त्यस्तै आइएफसी सेवा प्रदायकबारे विवरण, वायुसेवा प्रदायक र आइएफसी सेवा प्रदायकबीचको सम्झौता, नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिस पनि निवेदनसँगै बुझाउनुपर्ने हुन्छ।

त्यसपछि प्राधिकरणले निवेदनको समीक्षा गरी ‘नो अब्जेक्सन सर्टिफिकेट’ जारी गर्छ।

विदेशमा दर्ता भएको विमानको हकमा भने सम्बन्धित एअरलाइन्स वा आइएफसी सेवा प्रदायकले प्रमाणीकरणका लागि अनुरोध गरे आफूहरूले एनओसी जारी गर्न सक्ने दूरसञ्चार प्राधिकरणले जनाएको छ।(बीबीसी नेपाली सेवाबाट)

Share Now

Leave a comment.