काठमाडौं, २७ माघ । पूर्वकप्तान तथा स्पिनर सन्दीप लामिछानेलाई समेट्दै नेपाल क्रिकेट संघले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत नामिबिया र स्कटल्यान्डसँग खेल्ने अन्तिम टोली घोषणा गरेको छ ।
घोषित टिममा बायाँ हाते स्पिनर सूर्य तामाङ पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । बागमतीे प्रदेशबाट घरेलु क्रिकेट खेल्ने सूर्यले नेपाल टी २० लिगमा विराटनगर सुपर किंग्सबाट उत्कृष्ट प्रदर्शन गरेका थिए ।
पूर्वकप्तान सन्दीप लामिछाने पनि यौनदूराचारमा आरोपित भएको पाँच महिनापछि नेपाली टोलीमा फर्किएका हुन् । सन्दीपलाई गत भदौमा त्यस्तो आरोप लागेको थियो । उनी उपर लागेको मुद्दामा फैसला हुन सकेको छैन । पाटन उच्च अदालतले नेपाल बाहिर जान नमिल्ने गरी धरौटीमा थुनामुक्त गरेपछि उनी राष्ट्रिय टिममा फर्कन संभव भएको हो ।
नेपालले आरिफ शेख, अर्जुन साउद, प्रतिश जि.सी. र मौसम ढकाललाई वैकल्पिक खेलाडीको सूचीमा राखेको छ । पहिले राष्ट्रिय टोलीमा परेका किशोर महतो र कमलसिंह ऐरी भने बाहिरिएका छन् ।
आईसीसी विश्वकप लिग २ अन्तरगत नेपाल, नामिबिया र स्कटल्याण्डको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा हुँदैछ । नेपालले पहिलो खेल फागुन २ (फेब्रुअरी १४) मा नामिबियासँग खेल्नेछ । दोस्रो खेल फागुन ५ )फेब्रुअरी १७) मा स्कटल्यान्डसँग खेल्नेछ । नेपालले फागुन ६ )फेब्रुअरी १८) मा नामिबियासँग खेल्नेछ । नेपालले यस सिरिजको अन्तिम खेल फागुन ९(फेब्रअरी २१) मा स्कटल्यान्डसँग खेल्नेछ ।
नेपाली टोली
कप्तान रोहित पौडेलको नेतृत्वमा रहने नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भीम सार्की र सूर्य तामाङ रहेका छन भने आरिफ शेख, प्रतिश जि.सी. मौसम ढकाल र अर्जुन साउदलाई वैकल्पिक खेलाडीको रुपमा राखिएको छ ।


















