धनगढी(सुदूरपश्चिम), २७ माघ । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनियताको शपथ लिनुभएको छ।
प्रदेश प्रमुखको कार्यालयमा शुक्रबार दिउँसो प्रदेश प्रमुख देवराज जोशीबाट नवनियुक्त मुख्यमन्त्री शाहले पद तथा गोपनियताको शपथ लिनुभएको छ।
शाह बिहीबार साँझ संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।
एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २७ पौषमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका राजेन्द्रसिंह रावलले हिजो प्रदेश सभामा विश्वासको पद नपाएपछि पदमुक्त हुनुभएका थियो ।
दुई मन्त्री नियुक्त
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले दुई मन्त्री नियुक्त गर्नुभएको छ ।
उहाँले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाट एक । एक मन्त्री नियुक्त गर्नुभएको हो ।
शाहले कांग्रेसका सांसद प्रकाश देउवालाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिनुभएको छ। उहााँ कैलाली क्षेत्र नं ५ को प्रदेश सभाबाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ।
यस्तै, नेकपा एकीकृत समाजवादीबाट नरेश शाही आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त हुनुभएको छ। यो सँगै नेकपा एकीकृत समाजवादी पनि सत्ता फर्किएको छ।
मन्त्रीद्धय देउवा र शाहीले पनि मुख्यमन्त्री शाहसँगै पद तथा गोपनियताको शपथ लिनुभएको छ।


















