काठमाडौं, १६ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्र राष्ट्र् भारतको तीनदिने राजकीय भ्रमण गर्न लागेको सरकारले पुष्टि गरेको छ।
परराष्ट्र मन्त्रालयले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओलीले चैत २३ देखि२५ गतेसम्म भारतको राजकीय भ्रमण गर्ने जानकारी दिएको हो ।
भारतीय विदेश मन्त्रालयले पनि शुक्रवार नै विज्ञप्ति जारी गर्दै भ्रमणको पुष्टि गरेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीको यो भ्रमण दिल्ली केन्द्रीत हुनेछ र भ्रमणका अवसरमा नेपाल भारतबीचका आपसी सहयोगका सम्बन्धमा वार्ता हुनेछ ।
प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय विषयमा औपचारिक कुराकानी गर्नेछन्।
प्रधानमन्त्री ओलीले भारतीय राष्टप्रति रामनाथ कोविद र उपराष्टपति बैकटा नायडूसंग पनि शिष्टाचार भेट गर्नेछन् ।
त्यस्तै केही वरिष्ठ मन्त्रीहरूसहित भारतीय उच्च अधिकारीहरूले पनि ओलीसँग भेटवार्ता गर्ने छन्।
भ्रमणका क्रममा ओलीको उत्तराखण्डमा अवस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ।
भ्रमणको विस्तृत तालिका भने सार्वजनिक गरिएको छैन।




















