Prakash Adhikari February 15, 2023

चेन्नाई(तामिलनाडु), ३ फगुन ।नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भारतविरुद्धको दुई मध्ये पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज (बुधबार) भारतीय टिमसँग खेल्दैछ ।

यो खेल भारतको चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपाली समयअनुसार राति ७ः४५ बजेपछि हुनेछ ।

भदौंमा नेपालमा भएको साफ च्याम्पियनसिपपछि नेपाली महिला टिमले भारतसँग पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको हो ।

साफ च्याम्पियनसिपमा नेपालले भारतलाई सेमिफाइनलमा १–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । साफको इतिहासमा नेपालले भारतलाई पहिलोपटक सेमिफाइनलमा पराजित गरेपनि फाइनलमा भने बंगलादेशसँग पराजित भएको थियो ।

नेपालका मुख्य प्रशिक्षक अनन्त राज थापाले भारतसँगको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने अवसर पाएकोमा धन्यवाद व्यक्त गरेका छन् ।

यो दुई मैत्रीपूर्ण खेल हाम्रो लागि यो धेरै उपयोगी छ । हामी आयोजक भारतलाई धन्यवाद दिन चाहन्छौं ।’ प्रशिक्षक थापाले भने, ‘हामीले भारतसँग केही पटक खेलेका छौं । भारत धेरै राम्रो टोली हो । हामी उनीहरूलाई चुनौती दिन राम्रो तयारी गरिरहेका छौं । खेलको लागि सबैलाई शुभकामना ।’

नेपाल महिला ओलम्पिक क्वालिफायरको पहिलो राउन्डमा समूह ‘सी’ मा रहेको छ । नेपाल रहेको समूहमा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेका छन् ।

भारतका मुख्य प्रशिक्षक थोमस डेनरबीले यो मैत्रीपूर्ण खेल टोली निर्माणको लागि सहयोग पुग्ने बताए ।
‘हामी अहिले नतिजा खोजिरहेका छैनौं । हाम्रो मुख्य उद्देश्य ओलम्पिक क्वालिफायरका लागि टोली निर्माण गर्नु हो र यी खेलहरू त्यस प्रक्रियाको हिस्सा हुनेछ ।’, डेनरबीले भने ।

भारत एएफसी महिला ओलम्पिक क्वालिफायरको पहिलो राउन्डमा तुर्केमिनिस्तान र किर्गिस्तान रहेको समूह ‘जी’ मा रहेको छ । ओलम्पिक क्वालिफायर अप्रिलमा हुँदैछ ।

‘नेपाल अवश्य पनि राम्रो टोली हो । नेपालसँगको खेल हाम्रो टोलीका लागि अन्तर्राष्ट्रिय फुटबलको गतिमा फर्किने राम्रो अवसर हुनेछ ।’ डेनरबीले भने, ‘हामीले चेन्नईमा प्रशिक्षण गरिरहेका छौं, तर अब अन्तर्राष्ट्रिय खेल खेल्दैछौं । गति फरक छ, र यो क्वालिफायरको लागि तयारी गर्ने समय हो ।

भारतको मिडफिल्डर इन्दुमाथी कथिरेसनले आफ्नै राज्यमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्न पाउनु हाम्रो लागि गौरवको कुरा रहेको बताइन् । ‘तमिलनाडुमा महिला फुटबल वर्षौंदेखि बढ्दै गइरहेको छ, सिनियर र जुनियर टोलीमा तमिलनाडुका धेरै खेलाडी देखिएका छन् ।’ इन्दुमाथीले भनिन्, मलाई आशा छ कि हामीले धेरै युवाहरूलाई खेल्न मात्र नभई भविष्यमा पनि यसलाई खेल्नको लागि प्रेरित गर्न सक्छौं ।’ दोस्रो मैत्रीपूर्ण खेल शनिबार सोही मैदानमा हुनेछ ।

महिला राष्ट्रिय फुटबल टोली

गोलरक्षक (३) – एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर र उषा नाथ

डिफेन्डर (७) – हिरा कुमारी भुजेल, घिम कुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक र समिक्षा घिमिरे

मिडफिल्डर (८) – विमला चौधरी, सविता राना मगर, सरु लिम्बु, दिपा शाही, रेनुका नगरकोटी, अनिता बस्नेत, प्रिती राई र अनिता केसी

फरवार्ड (५) – अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला विक

Share Now

Leave a comment.