Prakash Adhikari February 18, 2023

चेन्नाई(भारत), ६ फागुन । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले शनिबार (आज) दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ।

चेन्नईको जवाहरलाल नेहरु स्टेडियममा खेल राति पौने ८ बजे सुरु हुनेछ।

बुधबार भएको पहिलो मैत्रीपूर्ण खेलमा २–२ को बराबरी खेलेको नेपाली टोली आजको खेल जित्न चाहन्छ। उता भारत भने घरेलु मैदानमा नेपाललाई हराउन चाहन्छ।

पहिलो मैत्रीपूर्ण खेल रोमाञ्चक बराबरी भएको थियो। खेलको ८९ मिनेटसम्म २–० ले पछि परेको नेपालका लागि मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बाले पेनाल्टीमा गोल गर्दै नेपाललाई २–१ को अवस्थामा ल्याएकी थिइन्।

खेलको अतिरिक्त समयमा सावित्राले अर्को गोल थप्दै नेपाललाई रोमाञ्चक बराबरीमा ल्याएकी थिइन्।

गत भदौमा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतलाई १–० गोल अन्तरले हराएको थियो।

नेपाली टोली भारतकै आग्रहमा २ मैत्रीपूर्ण खेल खेल्न त्यहाँ गएको हो।

भारतले नेपालसँगको मैत्रीपूर्ण खेललाई ओलम्पिक छनोटका रुपमा लिएको छ। ओलम्पिक छनोट आगामी अप्रिलमा हुनेछ।

नेपालले पनि ओलम्पिक छनोटको पहिलो चरणमा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेको समूह सी मा छ। उता भारत भने तुर्केमिनिस्तान र किर्गिस्तान रहेको समूह जी मा छ।

Share Now

Leave a comment.