Prakash Adhikari February 19, 2023

काठमाडौं, ७ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालका राजनीतिक दलहरू र राजसंस्थाबीच सहकार्यका लागि विलम्ब गर्न नहुने बताउनुभएको छ।

प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले नेपालको निरन्तर अधोगतितर्फ मौन रहन नसकिने उल्लेख गर्दै राजसंस्था र दलहरू सहकार्य गर्नपर्ने बताएउनुभएको हो।

‘नेपालको अत्यधिक बहुसङ्ख्यक जनताले चाहेको निर्णय स्विकार्ने हाम्रो वंशको परम्परा र संस्कार हो। शोकाकुल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरूमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौँ र देश छोडेर पनि गएनौँ’, उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘तर नेपालको निरन्तर अधोगति प्रति अब हामी मौन रहन सक्दैनौँ । यी यावत वर्षहरूमा देशको दीर्घकालीन शान्ति ,स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेको छ। अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन।’

विविधतापूर्ण नेपाल अधिराज्यलाई थप प्रतिनिधिमूलक र समावेशी बनाउने प्रयासको विस्तार स्वागत योग्य भए पनि अहिले कुशासन, भ्रष्टाचार, निराशालाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा देश फसेको उहाँले टिप्पणी छ।

‘अहिले युवाहरूको हकमा नेपालको इतिहास मै अद्वितीय जनसाङ्ख्यिक लाभांशको चरणबाट गुज्रिरहेको छ। यस्तो अवस्था अब धेरै अवधि रहने छैन। युवाहरू आफ्ना सम्भावना र अवसरबाट वञ्चित हुने अवस्था, आम नैराश्यमा बदलिने जोखिम बढ्दो छ’, पूर्वराजाद्वारा जारी सन्देशमा उल्लेख गरिएको छ, ‘हालै सम्पन्न आमनिर्वाचनमा युवाहरूको सहभागिता र केही आशालाग्दा नतिजाहरूबाट मुलुकको आगामी दिशाबारे आङ्कलन गर्न सकिन्छ।’

विगत बीस वर्षमा दशौं लाख युवाहरू विदेश पलायन र फराकिलो डायस्पोराको निर्माण, विप्रेषण समाज र अर्थतन्त्र दुवै ठूलो मात्रामा आश्रित हुँदा सकारात्मक र नकारात्मक असरबारे आगामी उज्यालो भविष्यको लागि राष्ट्रिय बहस जरुरी भएको पनि उहाले उल्लेख गर्नुभएको छ।

‘देश बलियो बनाउने, समाजलाई आफ्नो राष्ट्रिय परिचयसहित रूपान्तरण गर्ने र भावी पुस्तालाई समुन्नत नेपाल छोडेर जानका लागि राजनैतिक तथा सामाजिक रूपले दबाब दिन सक्ने युवा शक्ति बाहिर हुँदा राजनीतिक दलका नेताहरूलाई हाइसन्चो भएको भान होला। तर कडा मेहनत गरी आफ्नो खुट्टामा उभिन खोज्ने स्वाभिमानी नेपालीहरू अहिले निराश छन्। देशभित्र उज्यालो सम्भावना नदेखिएकोले अप्रिय बाटो रोज्न बाध्य छन्।’ सन्देशमा भनिएको छ।

Share Now

Leave a comment.