Prakash Adhikari February 20, 2023

किएभ(युक्रेन), ८ फागुन (बीबीसी) । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको एक वर्ष पुग्नै लाग्दा अमेरिकी राष्ट्रपति जो बाइडन युक्रेनको राजधानी किएभ पुग्नुभएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो टेलिग्राम खातामा बाइडनसँग हात मिलाउँदै गरेको तस्बिर सार्वजनिक गर्नुभएको थियो।

ूजोसेफ बाइडन, (तपाईँलाई) कीएभमा स्वागत छ तपाईँको भ्रमण सबै युक्रेनीहरूको लागि समर्थनको अत्यन्त महत्त्वपूर्ण सङ्केत हो,ू उहाँले लेख्नुभएको छ।

पोलिश समकक्षी आन्जेइ दुदालाई भेट्न युक्रेनको छिमेकी राष्ट्र पोल्यान्ड पुग्नुभएका अमेरिकी राष्ट्रपति अकस्मात् किएभ पुग्नुभएको हो।

अघोषित किएभ भ्रमण गरेका बाइडन हाल त्यहाँबाट फर्किसक्नुभएको छ।

युक्रेनको राजधानीमा महत्त्वपूर्ण व्यक्ति आउने सङ्केत त्यसअघि नै प्राप्त भइसकेको थियो।

तर सुरक्षाका कारण बाइडनको भ्रमण गोप्य राखिएको थियो।

बाइडनको मोटरगेड

बाइडनको मोटरगेड

उच्चस्तरीय भ्रमणको खबरका बीच किएभमा केही सडक खाली गराइएको थियो।

युक्रेनमाथि रुसले पूर्ण स्तरको आक्रमण सुरु गरेको एक दिनअघि बाइडन युक्रेन पुग्नुभएको हो।

नौ वर्षअघि सरकारविरोधी प्रदर्शनका क्रममा मृत्यु भएका १ सय ७ व्यक्तिको सम्झना गरिने दिन बाइडनले जेलेन्स्कीलाई भेट गर्नुभयो।

किएभस्थित बीबीसी संवाददाता जेम्स वाटरहाउसले द्वन्द्वका बीच युक्रेनको केन्द्रमा अमेरिकी राष्ट्रपतिले युक्रेनी नेतृत्वसँग भेट गर्नु महत्त्वपूर्ण अनि साङ्केतिक रहेको जनाउनुभएको छ।

उहाँका अनुसार पूर्ण स्तरको आक्रमण सुरु भएको एक वर्ष पुग्न लागेको बेला यो भ्रमणले मस्कोलाई अमेरिका र पश्चिमा राष्ट्रहरू युक्रेनलाई सहयोग गर्नबाट पछि नहट्ने स्पष्ट सङ्केत दिएको छ।

 

किएभ

जेलेन्स्की र बाइडन

 

बाइडनको भनाइ

बाइडन र जेलेन्स्की

एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति बाइडनले आफ्नो किएभ भ्रमणले युक्रेनको लोकतन्त्र, सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रतिको हाम्रो अटल प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने बताउनुभएको छ।

“एक वर्षअघि रुसले आक्रमण सुरु गर्दा पुटिनले युक्रेन कमजोर रहेको र पश्चिमा राष्ट्रहरू विभाजित रहेको ठानेका थिए। उनले हामीलाई परास्त गर्न सकिने ठानेका थिए। तर उनी पूर्ण रूपमा गलत थिए,’’ बाइडनले भन्नुभयो।

विज्ञप्तिमा रुसमाथि थप प्रतिबन्धहरू लगाइने समेत उल्लेख गरिएको छ।

किएभमा जेलेन्स्की र बाइडन साथमा रहेका बेला हवाई आक्रमणको चेतावनी दिने साइरनहरू बजेका थिए।

त्यसअघि किएभलाई ५० करोड अमेरिकी डलर बराबरको थप सैन्य सहयोग उपलब्ध गराउने बाइडनले घोषणा गर्नुभएको थियो।

केही साताअघि जेलेन्स्की पनि अकस्मात् वाशिङ्टन पुग्नुभयो।

आफ्नो भ्रमणका बेला अमेरिकी राष्ट्रपति बाइडनले रुससँग सङ्घर्ष गर्न युक्रेनलाई थप हातहतियार उपलब्ध गराउन अमेरिकाको कङ्ग्रेसलाई आग्रह गर्नुभएको थियो।

 

जेलेन्स्कीको भनाई

अकस्मात् युक्रेन पुगेका अमेरिकी राष्ट्रपतिसँगको भेटवार्तापछि जेलेन्स्कीले ‘‘लोकतान्त्रिक दुनियाँले’’ यो ‘’ऐतिहासिक युद्ध जित्नुपर्ने’’ बताउनुभएको छ।

ुुयो अमेरिका र युक्रेन सम्बन्धको इतिहासमै सबैभन्दा महत्त्वपूर्ण भ्रमण हो। यसले हामीले पहिले नै प्राप्त गरिसकेको नतिजाहरूलाई प्रस्ट पारेको छ,’’ जेलेन्स्कीले भन्नुभयो ुुआजको हाम्रो छलफल निकै फलदायी रह्यो।’’

उहाँले यस भ्रमणको नतिजा युद्धभूमिमा देखिने समेत बताउनुभएको छ।

ज्यानुअरी महिनाको सुरुमा युक्रेनलाई एब्राम्स ट्याङ्कहरू दिने अमेरिकाको निर्णयले युक्रेनको प्रतिरक्षालाई सुदृढ पार्न योगदान गरेको जेलेन्स्कीले बताउनुभयो।

उहाँले आफ्ना समकक्षीसँगको वार्तामा लामो दूरी प्रहार गर्न सकिने हातहतियारहरूबारे पनि कुराकानी भएको बताउनुभयो।

भ्रमण गोप्य

न्यूयोर्क टाइम्सका अनुसार बाइडन पोल्यान्डसँगको सीमाबाट रेल चढेर युक्रेन पुग्नुभएको हो।

व्यापक सुरक्षा चासोहरूलाई ध्यानमा राख्दै बाइडनको भ्रमण गोप्य राखिएको थियो।

विरलै हुने घटनाक्रममा अमेरिकी राष्ट्रपति र उनकी श्रीमतीले शनिवार राति एउटा रेस्टुराँमा खाना खानुभएको थियो।

त्यसपछि बिनासूचना उहाँ वाशिङ्टनबाट बाहिरिनुभयो।

पूर्वनिर्धारित पूर्वी युरोप भ्रमणका क्रममा बाइडन युक्रेन पुग्ने कुरालाई अधिकारीहरूले अस्वीकार गर्दै आएका थिए।

न्यूयोर्क टाइम्स लेखेको छस् ूवास्तवमै ह्वाइट हाउसले आइतवार राति सार्वजनिक गरेको सोमवारको तालिकाका अनुसार राष्ट्रपति अझै वाशिङ्टनमै हुनुहुन्थ्यो र साँझ वार्सा प्रस्थान गर्दै थिए। तर वास्तवमा उहाँले आधा संसार पार गरिसक्नुभएको थियो।ू

रुसलाई जानकारी

बाइडन र जेलेन्स्की

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभनले राष्ट्रपति बाइडनको किएभ भ्रमणबारे रुसलाई पहिले नै जानकारी गराइएको पुष्टि गर्नुभएको छ।

उक्त भ्रमणको तयारी केही महिना अघिदेखि गरिएको भए तापनि शुक्रवार मात्रै ‘‘जाने’’ निर्णय गरिएको बताइएको छ।

किएभस्थित बीबीसी संवाददाता समान्था ग्रयानभीलका अनुसार बाइडनले यात्रा सुरु गर्नुभन्दा केही घण्टा अघि आइतवार बिहान ह्वाइटहाउसले रुसलाई उक्त भ्रमणबारे जानकारी गराएको थियो ।

Share Now

Leave a comment.