काठमाडौं, ११ फागुन । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक बनेमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल यसपूर्वको
पाँच दलीय गठबन्धनका तर्फबाट साझा राष्ट्रपतिको उम्मेदवार बन्ने संकेट देखिएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बुधबार बेलुकी नेकपा एकीकृत समाजवादीको नेतृत्वसँग भएको छलफलमा पुरानो ५ दलीय गठबन्धन ब्युँताएर राष्ट्रपति निर्वाचनमा जाने समझदारी बनेको छ ।
बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमध्ये एकलाई राष्ट्रपतिको उम्मेदवार बनाउनेसम्मको सुरुवाती समझदारी बनेको थियो।
कांग्रेस र एकीकृत समाजवादीबीच प्रचण्डलाई तीन सरकार चलाउन दिने र बाँकी २ बर्ष कांग्रेस र एकीकृत समाजवादीले चलाएर निर्वाचनमा जाने सहमति छ । यो कुरामा प्रचण्ड सहमत भए राष्ट्रपतिको पाँच दलीय साझा उम्मेदवार रामचन्द्र पौडेल हुनुहुनेछ।
बुधबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कासहितका नेताहरुले प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग लामो बार्ता गर्नुभएको थियो ।
बैठकपछि कांग्रेस उपसभापति खड्काले पुरानै गठबन्धन ब्युँताउने सम्भावना बढेको प्रतिक्रिया दिनुभएको छ।
बुधबार साँझ भएको भेटमा प्रधानमन्त्रीसंग राष्ट्रपतिमा सहयोग मागिएको उहाँले बताउनुभयो।
जवाफमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले यसबारे पार्टीभित्र छलफल गरेर निर्णय दिने बताउनुभएको थियो । पार्टीबाट भने उहाँले राष्ट्रपतिका सन्दर्भमा निर्णय लिने अधिकार लिइसक्नुभएको छ। प्रधानमन्त्री दाहालले अन्य दलसँग पनि छलफल गरेर उपयुक्त समयमा निर्णय गर्ने वचन दिनुभएको छ ।
कांग्रेस नेता पौडेलले बुधबार नै एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री नेपाललाई उहाँकै पार्टी कार्यालय आलोक नगरमा भेटेर आफूलाई राष्ट्रपतिका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो।
दुई नेताबीच बुधबार झण्डै डेढ घण्टा राष्ट्रपति निर्वाचनबारे छलफल भएको बताइएको छ ।


















