काठमाडौं, १४ फागुन । क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको छ ।
नेपालका पूर्वकप्तान क्रिकेटर सन्दीप लामिछाने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तरगत युएईमा हुने त्रिदेशीय श्रृखलामा सहभागी हुन पाउने वा नपाउने सम्बन्धमा आज सर्वोच्च अदालतले निर्णय दिने भएको छ।
उच्च अदालत पाटनको आदेश अनुसार २० लाख धरौटीमा थुनामुक्त भएका सन्दीप नेपाल क्रिकेट संघले निलम्बन फुकुवा गरेर प्रशिक्षणमा सामेल गरी नेपालमा भएको स्कटल्याण्ड,नामिबिया र नेपालको त्रिदेशीय क्रिकेट श्रृखलामा राष्ट्रिय टिममा फर्केका थिए ।
झण्डै ६ महिनापछि मैदानमा फर्केका उनले आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ को काठमाडौंमा भएको त्रिदेशीय श्रृखलाको चारवटै खेलमा राम्रो प्रदर्शन गरैका थिए । चार खेलमा उनले १३ विकेट लिए । यो श्रृखलामा लिग २ समूहका सबैभन्दा बलिया मानिएका स्कटल्याण्ड र नामिबियालाई हराउदै श्रृखलका चारै खेल जितेर नेपाली टिमले इतिहास पनि रच्यो ।
नेपाल श्रृखला जिते पनि नेपालले अझै सोझै विश्वकप छनोट खेल खेल्न र ओडीआई मान्यता पाउने अवस्था सुरक्षित गर्न सकेको छैन । सोझै विश्वकप खेल्न अब बाँकी ८ खेलमध्ये ७ खेल जित्नुपर्ने छ भने ओडीआई मान्यता कायम राख्न ५ खेल ।
कीर्तिपुरको खेलमा सन्दीपले लिएका विकेट नै प्रतिस्पर्धी टिमलाई हराउने मुख्य कारक देखिएको अवस्थामा दुबाईमा हुने श्रृखला र त्यसपछि नेपालमा हुने श्रृखला नेपालले जित्न अपरिहार्य हुन गएको छ । सन्दीप लामिछानेको घातक बलिड. बिना सहजरुपमा श्रृखला जित्ने अवस्था रहेको छैन् । त्यसैले नेपाल क्रिकेट संघको जमानी वा नेपाल प्रहरीको निगरानीमा सन्दीपलाई खेलमा सहभागी हुन अदालत उदार हुन सक्ने संभावना जीवित छ ।
आज सन्दीपले दिएको धरौटी रकम घटाउनुपर्ने, विदेश जान लगाइएको प्रतिबन्ध हटाउनुपर्ने तथा आफ्नो मानमर्यादामा आँच पुर्याएकाले क्षतिपूर्ति दिनुपर्ने माग सहितको निवेदन र महान्यायाधिवक्ताको कार्यालयले उनलाई थुनामा नै राखेर अनुसन्धान गर्नुपर्ने माग सहित दिएको निवेदन एकै बेञ्चमा राखेर सुनुवाई गरिंदै छ ।
उच्च अदालतले पुस २८ गते सन्दीपलाई सशर्त धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
आपसी सहमतिमा डेटिड. गएकी केटी साथीले यौनदूराचारको आरोप लगाएर प्रहरीमा उजुरी गरेपछि सन्दीप अदालती झमेलामा परेका छन् । उजुरीकर्ताको अस्पतालको जन्ममिति र नागरिकता तथा शैक्षिक योग्यताका प्रमाणपत्रका जन्म मिति फरक देखिएका छन् ।
रोजगारी र अन्य प्रयोजनका लागि नागरिकताको प्रमाणपत्र वा शैक्षिक योग्यताका प्रमाणपत्र मान्य भएपनि शारीरिक विकाससंग संबन्धित विषयमा अस्पतालको जन्ममिति आधिकारिक हुनुपर्ने देखिन्छ । अस्पतालको जन्ममितिले आधिकारिकता पाउँदा सन्दीप यो झमेलाबाट मुक्त हुन्छन् । अन्नपूर्णा राणाको अंशसम्बन्धी मुद्दामा फैसला गर्दा सर्वोच्च अदालतले आपसी सहमतिमा भएको यौनसम्बन्धलाई अपराधका रुपमा हेर्न नमिल्ने ब्याख्या गरेको छ ।


















