Prakash Adhikari February 26, 2023

काठमाडौं, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा आजदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुरु भएको छ।

क्यानले पहिलो पटक कर्णाली प्रदेशमा साधारण सभा गर्न लागेको हो ।

आज आइतबार र सोमबार दुई दिनसम्म चल्ने साधारण सभामा वार्षिक कार्यक्रमका साथै बजेटदेखि विवादित नेपाल टी-२० लिगको विषयमा छलफल हुनेछ ।

गत पुसमा काठमाडौंमा भएको पहिलो संस्करणको नेपाल टी-२० लिगमा विभिन्न विवादेखि स्पट फिक्सिङसम्म भएपछि क्यानको चर्को आलोचना भएको थियो ।

पहिलो संस्करणमै निकै विवाद बनेपछि नेपाल टी-२० लिग अब कसरी अगाडि बढाउने भन्ने विषयमा साधारण सभामै छलफल गर्ने निर्णय गर्ने क्यानले यसअघि नै घोषणा गरिसकेको छ ।

यस्तै व्यावसायिक तथा रणनीतिक साझेदारको रुपमा रहेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौताको विषयमा पनि छलफल हुनेछ ।

लिग विवादित बनेपछि सेभेन थ्री स्पोर्ट्सले यसअघि नै एकपक्षिय रुपमा सम्झौता रद्द गरिएको जानकारी क्यानसहित राष्ट्रिय खेलकुद परिषद्लाई पठाएको थियो ।

तर क्यानले अझै सेभेन थ्रीबाट लाइसेन्स फि को रकम देखि पुरस्कार रकम पाउन बाँकी नै रहेकोले यस विषयमा साधारण सभाबाटै निर्णय गर्ने जनाएको छ ।

यस बाहेक साधारण सभा संघको २०२३ को वार्षिक कार्यक्रम, कार्ययोजना र बजेट अनुमोदनको विषयमा पनि छलफल हुनेछ । आर्थिक नियमावली संशोधनको विषयमा पनि छलफल हुनेछ ।

Share Now

Leave a comment.