मलेक क्रिकेट ग्राउन्ड(युनाइटेड अरब इमिरेट्स), १५ फागुन । नेपालले आइसिसी यु १९ विश्वकप एसिया क्षेत्र छनोटमा हङकङलाई ९ विकेटले हराउँदै लगातार तेस्रो शानदार जित हात पारेको छ ।
युएईको मलेक क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको हङकङ ४६.३ ओभरमा १ सय २० रनमा अल आउट भएको थियो ।
जितको लागि १ सय २१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २२.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर आकाश त्रिपाठी ७२ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६४ रनमा अविजित रहे ।
डेब्यू खेल खेलेका उत्तम थापामगर ५० बलमा ४ चौकासहित ३९ रनमा अविजित रहे । दोस्रो विकेटका लागि आकाश र उत्तमले ९८ रनको साझेदारी गरेका थिए । ओपनर अर्जुन कुमाल भने १२ बलमा ३ चौकासहित १६ रनमा आउट भए ।
हङकङका मध्यक्रमका ब्याटर पर्थ भगवतले ९३ बल खेल्दै ४ चौकासहित सर्वाधिक ३६ रन बनाए । उनी स्पिनर दीपेश कँडेलको बलमा दीपक डुम्रेबाट क्याच आउट भएका थिए ।मोहम्मद अलियान जाहिर ६७ बलमा ३ चौकासहित २९ रनमा आउट भए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालको सानदार बलिङ सामु हङकङका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका सुवास भण्डारीले १० ओभरमा ३ मेडनसहित १० रन खर्चेर २ विकेट लिए । सुवासले ६० मध्य ५१ बल डट राखेका थिए । ९ ओभरमा ३ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । हेमन्तले ३७ बल डटराखेका थिए । आकाश चन्दले ८.३ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । दीपेश कँडेलले एक विकेट लिए ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन र कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले मंगलबार मलेसिया र मार्च २ मा युएईसँग खेल्नेछ । ६ टोली सहभागी प्रतियोगिता शीर्ष टोली आगमी वर्ष श्रीलंकामा हुने यू १९ विश्वकप खेल्न पाउनेछ ।
नेपाल र युएई प्रतियोगिता प्रमुख दाबेदार टोली हुन् ।


















