काठमाडौं, १५ फागुन । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जाने अनुमति दिएको छ।
लामिछानेको मुद्दामा आइतवारदेखि जारी सुनुवाइ सकिएसँगै सर्वोच्चले थुनामा फर्काउनु नपर्ने ठहरसहित विदेश जाने अनुमति दिएको हो।
सन्दीपले विदेश जान लागेको प्रतिबन्ध हटाउन मागसहित दिएको निवेदन र पीडितको पक्षबाट सरकारी वकिलको कार्यालयले उनलाई थुनामै राख्न माग गरेको निवेदनमा बन्द इजलासमा एकसाथ सुनुवाइ भएको थियो।
त्यसपछि न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त इजलासबाट सन्दीप लामिछाने र नेपालको क्रिकेट जगतलाई राहत दिने गरी आदेश आएको हो।
सोमबार सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरे, रोशनी पौडेल र रामेश्वर न्यौपानेले बहस गरेका थिए।
सरकारी वकिलको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले जवाफी बहस गरेका थिए।


















