Prakash Adhikari March 5, 2023

स्टेफन म्याकडोनेल ।चीन संवाददाता

बेइजिड.(चीन), २१ फागुन(बीबीसी) । यसै साताको अन्त्यमा सुरु हुने चिनियाँ पार्टीको सम्मेलन राष्ट्रपति सी जिन्पिङको शक्ति केन्द्रीकरणको प्रतिकात्मक उत्कर्ष हुनेछ।

सी ले आफूलाई केन्द्रमा राख्दै चिनियाँ कम्युनिस्ट पार्टीलाई यसरी पुनर्संरचना गर्नुभएकोछ कि कसैले पनि उहाँलाई चुनौती दिन सहज छैन।

यो शक्तिको नयाँ उत्तराधिकारी हुने व्यक्तिलाई ‘रबर स्ट्याम्प’ भनिने कम्युनिस्ट पार्टीका ३ हजार प्रतिनिधि सहभागी वार्षिक बैठकले अनुमोदन गर्दैछ।

चीनका प्रधानमन्त्री विश्वकै दोस्रो ठूलो अर्थतन्त्रका व्यवस्थापक मात्रै नभई राष्ट्रपति सी पछिका दोस्रो शक्तिशाली व्यक्ति पनि मानिनुहुन्छ।

प्रधानमन्त्रीबाट बाहिरिनुभएका ली खछ्याङले पहिलो दिनको सत्रमा मञ्च भने पाउनुहुनेछ ।

सत्रको अन्त्यमा उहाँको ठाउँमा नयाँ प्रधानमन्त्री आउनुहुनेछ। चीनको नयाँ प्रधानमन्त्रीमा ली चियाङले बाजी मार्ने ठानिएको छ।

चिनियाँ नेतृत्वमा कस्ता व्यक्ति ?

विशेषगरी राष्ट्रपति सी सँगको सामीप्यताका दृष्टिले उहाँहरू निकै फरक पृष्ठभूमिका मानिनुहुन्छ।

सी ले भ्रष्ट्राचार विरोधी अभियानसँगै पार्टीमा आफ्नो प्रतिस्पर्धी गुटका धेरै नेतालाई कारबाही गर्नुभयो।

गत अक्टोबरमा कम्युनिस्ट पार्टी कंग्रेसले देशको शक्तिशाली निकाय सात सदस्यीय पोलिटब्युरो स्थायी समिति नियुक्त गर्‍यो जसमा सीका निकटस्थहरू मात्रै छन्।

अबको बैठकले धेरै वटा मन्त्रालय र विभागका प्रमुखहरूको हेरफेर गर्दैछ। त्यसमा पनि सी निकटहरू नै समावेश हुने निश्चित जस्तै छ।

यसको अर्थ उनीहरू योग्य नभएका भन्ने चाहिँ होइन। तर उनीहरूले आफूलाई नियुक्त गर्ने व्यक्तिलाई कति खुलेर सुझावहरू दिन सक्छन् भन्ने प्रश्न महत्वपूर्ण छ।

“एक पक्षबाट हेर्दा नयाँ नेतृत्वका कारण आफूले चाहेका काम गर्न सी लाई सजिलो हुन्छ। तर अर्को पक्षबाट हेर्दा उनी ‘इको च्याम्बर’मा फस्ने जोखिम पनि उत्तिकै छ,” एक जना अनुभवी व्यवसायीक व्यक्तित्वले बीबीसीसँग भन्नुभएको छ।

यी नियुक्तिहरूले चीनले लिने बाटोबारे के अर्थ राख्छन् ?

प्रधानमन्त्री हुन लागेका ली चियाङको पृष्ठभूमी

ली चियाङ

ली चियाङ

चिनियाँ कम्युनिस्ट पार्टीको अधिवेशनमा अन्त्यसम्म बसेर छानिएका पत्रकारहरूको प्रश्नउत्तरमा सहभागी भएका ली चियाङ प्रधानमन्त्री हुने निश्चित जस्तै छ।

यो नियुक्ति उहाँको राजनीतिक जीवनमा ठूलो फड्को हो।

चीनको आर्थिक राजधानी भनिने साङ्घाइको प्रमुख रहनुभएका उहाँले यसअघि उक्त सहरमा भएको दुई महिने कडा लकडाउनको नेतृत्व गर्नुभएको थियो।

त्यहाँ मानिसहरूले खाना र औषधीको अभावसँग सङ्घर्ष गर्नुपरेको थियो।

घरमा पुर्‍याइएका खानाहरू पनि सडेको भन्दै मानिसहरूले सामाजिक सञ्जालमा राखेका थिए। लकडाउनबाट आक्रान्त मानिसहरूले प्रहरीका बारहरूमा लात मार्नुका साथै सुरक्षा गार्डहरूसँग झडप भएको थियो।

यही कारण उनलाई देशको दोस्रो प्रमुख पद दिइएकोमा धेरैले आश्चर्य माने।

“उनी चतुर छन् र कुशल सञ्चालक पनि हुन् तर उनले पद पाउनुको कारण चाहिँ सीप्रतिको झुकाव नै हो,” चीनस्थित युरोपेली सङ्घको व्यापारिक संस्था चेम्बर अफ कमर्सका अध्यक्ष योर्ग वुत्काले भन्नुभयो।

राष्ट्रपतिसँगको निकटता

शून्य कोभिड नीति

चीनमा कम्युनिस्ट पार्टीका माथिल्लो तहका नेताहरूसँग संवाद गर्दै आएका वुत्का सन् १९९० यता चीनमा व्यापारमा संलग्न छन्।

शून्य कोभिड नीतिको असर व्यापार व्यवसायमा अझैसम्म पनि देखिइरहे पनि यसका लागि ली चियाङ मात्रै जिम्मेवार नरहेको उनीसहित अन्य व्यवसायीहरूको बुझाइ छ।

बरु अमेरिकी विद्युतीय कार टेस्लाको उत्पादन चीनमा ल्याउने श्रेय ली चियाङलाई जाने वुत्का बताउनुहुन्छ।

त्यसअघि सन् २०१६ मा पूर्वी चीनको प्रविधि उत्पादनका कारण धनी प्रान्त जिआन्सुको सचिव हुँदा उहाँले अलिबाबाका संस्थापक ज्याक मा सहित प्रविधि कम्पनीहरूसँग व्यवसाय गर्ने वातावरणबारे छलफल चलाउनुभएको थियो।

तर अहिले माहोल फेरिएको छ। धेरै शक्तिशाली भएको ठानेर राष्ट्रपति सी ले त्यहाँका प्रविधि कम्पनीहरूमा लगाम लगाउन थाल्नुभएको छ र कम्पनीका सञ्चालकहरू हराउन थालेका छन्।

यसको पछिल्लो उदाहरण प्रविधिमा ठूलो फड्को मारेका बाओ फ्यान हुनुहुन्छ। उहाँ हराइरहेको उहाँको कम्पनीले जनाएको छ।

ली चियाङले साङ्घाइ नजिकैको पूर्वी चीनको अर्को धनी प्रान्त झेजियाङमा अहिलेका राष्ट्रपति सी सँगै काम गर्ने अवसर पाउनुभएको थियो।

यस प्रान्तको सी पार्टीको प्रमुख हुँदा ली उनको चिफ अफ स्टाफ रहनुभएका थियो र दुवै जना राती अबेरसम्म काम गर्ने गर्नुहुन्थ्यो।

ली खछ्याङ बाहिरिनुको कारण

अवकाश पाउँने क्रममा रहनुभएका प्रधानमन्त्री ली खछ्याङको राष्ट्रपति सी सँग विगतमा काम गरेको पृष्ठभूमि थिएन।

हु जिन्ताओ

बरु सामूहिक नेतृत्वकालमा सँगसँगै उदाएका ली खछ्याङ राष्ट्रपति सी को प्रतिस्पर्धी मानिनुहुन्थ्यो।

चिनियाँ साँस्कृतिक क्रान्ति लगत्तै पेकिङ विश्वविद्यालयबाट स्नातक गरेका खछ्याङ अब्बल अर्थशास्त्री हुनुहुन्छ। तर उहाँ पार्टीमा सीको प्रतिस्पर्धी समूह यूथ लिगबाट उदाएकोले उत्तराधिकारीको रुपमा उहाँलाई विकसित हुन दिइएन।

सीले चिनियाँ सडक व्यवसायलाई नयाँपन दिनुभएको थियो तर पछि त्यो सुविधा प्रहरीले हटायो।

ली खछ्याङलाई पार्टीका पुराना नेता हु जिन्ताओ निकट मानिन्छ। हु जिन्ताओ तिनै नेता हुनुहुन्छ जसलाई सी को आदेशमा गत अक्टोबरमा पार्टी महाधिवेशनबाट बाहिर निकालिएको थियो।

उहाँलाई स्वास्थ्य वा अरू कुनै कारणले बाहिर निकालिएको थियो भन्ने प्रस्ट नभए पनि बाहिरिँदै गर्दा उहाँले प्रधानमन्त्री ली खछ्याङलाई धाप मार्नुभएको थियो।

ली खछ्याङ बलियो आर्थिक सूचकको लागि चीनमा सम्झिइरहने देखिन्छ तर शून्य कोभिड नीतिका कारण उहाँको कार्यकालको अन्त्य चाहिँ सुखद रहेन।

उहाँले प्रतिबन्धहरू केही सहज गर्न भने पनि कम्युनिस्ट पार्टीको संरचनाले सी को आदेश अगाडी उहाँको आग्रह सुन्ने कुरै थिएन।

राष्ट्रपति सी चुनौती 

राष्ट्रपति सीले जसरी शक्तिमा आफू निकटका मानिसहरूलाई पुर्‍याए त्यसको कारणले उनलाई चीनमा केही पनि कुराले चुनौती दिन सक्दैन।

तर उहाँलाई सर्वसाधारणहरू माझ आफ्नो लोकप्रियता घट्दै गएको चिन्ता छ।

उहाँले अघि सारेको शून्य कोभिड नीति, विरोधपछि त्यसको हठात् परित्याग, अर्थतन्त्रको सङ्कट, प्रविधि कम्पनीहरूमा नियन्त्रण, उच्च युवा बेरोजगारी र सेवा उद्योगमा भएको क्षति जस्ता कुराले उहाँको शक्तिलाई चोट पुर्‍याएको छ।

केही दिनमा सुरु हुने चिनियाँ कम्युनिस्ट पार्टीको बैठकबाट महत्त्वपूर्ण पदमा हुने नियुक्तिलाई चिनियाँ अर्थतन्त्रको मार्गबारे अध्ययन गरिरहेकाहरूले नजिकबाट नियाल्नेछन्।

Share Now

Leave a comment.