Prakash Adhikari March 5, 2023

काठमाडौँ, २१ फागुन। राष्ट्रिय ध्वजावाहक जहाजको सञ्चालक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ ।

दक्षिण कोरियाको राजधानी सिओलस्थित इचोन इन्टरनेशल एयरपोर्टमा उडान गर्नका लागि प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।

उक्त प्रयोजनका लागि निगमका नायब महाप्रबन्धक (प्राविधिक) इन्जिनियर विक्रम केसीको संयोजकत्वमा १० सदस्यीय सेफ्टी अडिट उपसमिति गठन गरिएको छ ।

समितिमा निगमको सेफ्टी, इन्जिनियरिङ,अपरेशन, क्वालिटी एसोरेन्स, भूमिस्थ सेवा, उडान पुनरावलोकन, ग्राहकसेवा, कन्टिन्युइड. एअर वर्दिनेस लगायत विभागको प्रतिनिधित्व रहेको छ ।

निगमले दक्षिण कोरियामा सिधा उडान सञ्चालनार्थ सेफ्टी अडिट गर्नका लागि समिति गठन गरेको हो । “उडानका लागि दक्षिण कोरियाको मिनिस्ट्री अफ ल्यान्ड, इन्फास्ट्रक्चर अफ एन्ड ट्रान्सपोर्ट (मोलिट) अन्तर्गतको सिभिल एभिएसन अथोरिटीले अडिट गर्नुपर्ने हुन्छ, सोहीको तयारीका लागि निगमको तर्फबाट समिति गठन गरी काम सुरु गर्न लागिएको छ”, निगमका प्रवक्ता खड्काले भन्नुभयो ।

निगमले अन्तर्राष्ट्रिय उडान गन्तव्य विस्तारको योजनाअनुरूप दक्षिण कोरिया सिधा उडानको तयारी सुरु गरेको हो । राष्ट्रिय ध्वजावाहक निगमको उपस्थिति र सिधा उडान सुरु गरेपछि बजार नियन्त्रण भई हवाई टिकटको मूल्य घट्ने र राष्ट्रिय ध्वजावाहकको दायित्व पनि पूरा हुने निगमको विश्वास छ ।

निगमले हाल भारतका दिल्ली,मुम्बई,बंगलुरु, मलेशियाको क्वालालम्पुर, थाइलैण्डको बैंकक, हंगकंग, जापानको टोकियो,कतारको दोहा, ंसंयुक्त अरब इमिरेट्सको दुबाई, साउदी अरेबियाको रियाद र चीनको हंगकंगमा नियमित उडान सेवा सञ्चालन गर्दै आएको छ ।

निगमसंग अन्तर्राष्ट्रिय उडानमा दुई थान न्यारोबडी ए–३२० र दुई थान वाइडबडी ए–३३० जहाज छन् ।

निगमले दुईथान वाइडबडी खरिद गर्न २०७३ साल असोज १० मा तयार पारेको ब्यापारिक प्रतिवेदनमा साउदी अरेबियाको दम्माम, कोरियाको सिउल अष्ट्रेलियाको सिड्नी जस्ता नयाँ गन्तव्य थप गर्ने र न्यारो बडीका जहाजलाई चीनको कुन्मिड., श्रीलंकाको कोलम्बो, ओमानको मस्कट, बंगलादेशको ढाका, भारतको कोलकोता, युनाइटेड अरब इमिरेट्सको सारजहाँमा नयाँ गन्तव्य खोली नियमित उडान गर्ने योजना राखिएको थियो ।(राससको सहयोगमा)

Share Now

Leave a comment.