Prakash Adhikari March 7, 2023

काठमाडौं, २३ फागुन । शान्ति सम्झौता विरोधी गतिविधिको प्रतिवाद गर्न माओवादी धारका नेताहरू एकमत भएका छन् ।

आज बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी धारका ८ दलका नेताहरुको बैठकले संक्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे ध्यानाकर्षण जनाउँदै माओवादी धारका नेताहरूले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्‍याउन सरकारसँग माग गरेको छ।

बैठकपछि विज्ञप्ति जारी गर्दै शान्ति प्रक्रियासँग जोडिएका विषयहरु विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप व्यवस्थापन गरिनुपर्ने बताइएको छ।

‘संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् अगाडि बढाइनुपर्दछ। संक्रमणकालीन न्यायको प्रक्रिया विपरितका काम कारवाहीहरुले शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग पुयाउँदैन भन्ने कुरामा समेत हामी स्पष्ट छौं,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं।’

विभिन्न समयमा राज्यसँग भएका सहमति र सम्झौताहरुको कार्यान्वयन हुनुपर्दछ भन्ने कुरामा समेत प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सी।पी। गजुरेल, नेकपा प्रवक्ता खड्कबहादुर विश्वकर्मा, नेकपा बहुमतका संयोजक धमेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुति’, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र माओवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य नारायणप्रसाद धिमालले हस्ताक्षर गर्नुभएको छ ।

Share Now

Leave a comment.