Prakash Adhikari March 7, 2023

 

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभित्र उत्पादित बिजुली भारतीय बजारमा निर्यात भैसकेको र बङ्गलादेशको बजारमा पुग्ने प्रक्रिया सुरु भएको बताउनुभएको छ।

साहस ऊर्जा प्रा.लि.द्धारा निर्मित ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजनाको काठमाडौंमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले हालै मात्र नेपाल र भारतका ऊर्जा सचिवको संयुक्त बैठकले नेपालको बिजुली निर्यातका लागि थप मार्ग प्रशस्त गरेको बताउनुभयो । उहाँले जलविद्युतको निर्यातले मुलुकको व्यापार घाटा कम गर्न सघाउने पनि बताउनुभयो।

प्रधानमन्त्री दाहालले आर्थिक विकास र व्यापार सन्तुलनको लागि उपयुक्त माध्यमका रूपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकार निजी क्षेत्रसँग मिलेर काम गर्ने र जस्तोसुकै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

निजी क्षेत्रको सबैभन्दा ठूलो जलविद्युत आयोजना निर्माण गरेर ऐतिहासिक रेकर्ड बनाएकामा साहस ऊर्जासँग जोडिएका सबै सङ्घ संस्था र व्यक्तिलाई सरकारको तर्फबाट बधाई एवं धन्यवाद दिँदै प्रधानमन्त्रीले थप आयोजना निर्माणका लागि आग्रह गर्नुभयो।

उहाँले साहस ऊर्जाको प्रयासले निजी क्षेत्रलाई आगामी दिनमा थप आयोजना निर्माणका लागि प्रेरित गरेकोमा प्रसन्नता व्यक्त गर्नुभयो।

प्रकृतिले दिएको अपार जलस्रोतको उपयोग गरेर मात्रै मुलुकलाई आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि लैजान सकिने प्रधानमन्त्रीको भनाइ छ।


आफू पहिलो पटक प्रधानमन्त्री बन्दा १० बर्षमा १० हजार मेगावाट जलविद्युत उत्पादन गर्ने महत्वाकांक्षी परिकल्पना र लक्ष्य किटान गरेर विद्युत उत्पादनमा फड्को मारिएको तथा दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दा विद्युतको लोडसेडिड. घटाउन राजनीतिक नेतृत्व गरेको दावी गर्नुभयो । उहाँले यो तेस्रोपटक विद्युतको आन्तरिक बजार विस्तार तथ भारत र बंगलादेशको बाह्य बजार खोजी गर्ने संयोग जुरेको उल्लेख गर्नुभयो । उहाँले हालै नेपाल र भारतका ऊर्जा अधिकारीहरुको बैठकमा यसतर्फ आशालाग्दो प्रगति भएको पनि बताउनुभयो ।

प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा सरकार बनेको सय दिन नपुग्दै आशा लाग्दा काम भएको उल्लेख गर्दै बैंकिड. तथा वित्तीय र उद्योग तथा व्यापार क्षेत्रमा देखिएका समस्या छिट्टै हल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, हामीलाई असफल हुने छुट छैन । देशको आर्थिक तथा सामाजिक रुपमान्तरणका लागि सम्पूर्ण सामाथ्र्य लगाउनुको विकल्प छैन् । हामीले हाम्रा प्राकृतिक स्रोत साधनहरुको सदुपयोग गर्नु छ । हामीले इभोलुसन हैन रिभोलुसनको रफ्तारमा काम गर्नु छ ।
उहाँले देशलाई आर्थिक रुपले समृद्ध बनाउदै जनताको आकांंक्षा सम्बोधन गर्ने अवसर र चुनौती दुवै रहेको पनि उल्लेख गर्नुभयो ।

 

‘‘अब हाइड्रोजनबाट चल्ने सवारी चढ्छु’

प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रमा भएको विकासले ग्रीन हाइड्रोजनमा फड्को मार्ने उपयुक्त अवसर आएको बताउनुभयो। विकसित देशमा हाइड्रोजनको प्रयोगको मात्रामा गुणात्मक वृद्धि हुँदै गरेको तथ्य पेश गर्दै प्रधानमन्त्रीले नेपाल पनि क्रमशः त्यसतर्फ अग्रसर हुने उल्लेख गर्नुभयो।

प्रधानमन्त्रीले डिजेल र पेट्रोलको सवारी साधन छाडेर आफूलाई हाइड्रोजन सवारी साधन चढ्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुझाव दिएको र त्यसको तयारीमा रहेको जानकारी दिनुभयो। उहाँले ग्रीन इनर्जीबाट ग्रीन हाइड्रोजनतर्फ जाने सोचका साथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समेत छलफल भएको बताउनुभयो।

निजी तथा सार्वजनिक क्षेत्रको सहकार्य बिना आर्थिक विकासको प्रक्रिया अगाडि बढ्न नसक्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले निजी क्षेत्रले अगाडि बढाएका सबै आयोजनाको सहजीकरण गर्ने र समस्या समाधान गर्ने विश्वास दिलाउनुभयो।

कार्यक्रममा साहस ऊर्जा प्रा.लिका अध्यक्ष हेमप्रसाद पाठकले २०७१ भाद्रमा स्थापित कम्पनीले सोही बर्ष सोलुखोला दूधकोशी आयोजनाको उत्पादन इजाजत लिएको र तात्कालीन नेपाल इन्भेष्टमेण्ट बैंकको अगुवाईमा थप ११ वटा बैंकको ऋण लगानीमा निर्माण सम्पन्न भएको बताउनुभयो ।

आयोजनाको सिभिल वर्क सिई कन्स्ट्रक्सनले,हाइड्रो मेकानिकल माछापुच्छ्रे मेटल एण्ड मेसिनरी वर्क्र्स प्रा.लि.ले, इलेक्ट्रोमेकानिकल भोइथ इण्डियाले, ट्रान्समिसन लाइन गौरा कन्स्ट्रक्सनले तथा डिजाईन,सुपरभिजन र मनिटरिड. हाइड्रो कन्सल्ट तथा जर्मन फिस्नर जेभीले गरेका थिए ।

अध्यक्ष पाठकका अनुसार ८ हजार १ सय १५ जना संस्थापक रहेको निजी क्षेत्रको सबैभन्दा ठूलो यो आयोजना २०७२ को महाभूकम्प, त्यसपछिको भारतीय नाकाबन्दी र कोभिड १९ जस्ता प्रतिकूल अवस्थालाई छिचोल्दै पूरा भएको हो ।

यो आयोजनाको निर्माणले प्रबर्धकहरुलाई ५०० मेगावाट क्षमताका जलाशययुक्त आयोजना स्वदेशी पूँजी, जनशक्तिबाट बनाउने आत्मविश्वास पलाएको छ ।

कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादक संघका अध्यक्ष कृष्णप्रसाद आचार्यले ऊर्जा उत्पादनका लागि एकद्धार प्रणाली लागू गर्न, विद्युतको प्रशारण र ब्यापारको जिम्मा निजी क्षेत्रलाई दिन आग्रह गर्दै निश्चित समयावधिपछि नेपाल सरकारको स्वामित्वमा आयोजना हस्तातरण गर्न अग्रसर ऊर्जा उद्यमीहरुलाई उद्योगको स्वामित्व सन्तान दरसन्तानमा सार्ने उद्यमीलाई भन्दा फरक ढंगले हेर्न प्रधानमन्त्रीसंग आग्रह गर्नुभएको थियो ।

 

कार्यक्रममा आयोजनाका संस्थापक, निर्माणमा संलग्न प्राविधिक,वित्तीयसंस्थाहरु,परामर्शदाता, कर्मचारीहरुलाई सम्मानित पनि गरिएको थियो ।

आयोजनाले फागुन १७ गतेदेखि ब्यापारिक उत्पादन थालेको छ ।

 

Share Now

Leave a comment.