Prakash Adhikari March 8, 2023

काठमाडौं, २४ फागुन । आइसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तरगतको अन्तिम त्रिकोणात्मक ओडीआई श्रृंखला भोलिदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदै छ ।

नेपाल, पपुवा न्युगिनी र युएईबीच हुने यो खेलका लागि नेपाल क्रिकेट एशोसिएशनले १४ सदस्यीय टोली घोषणा गरेको छ ।

नेपालले युएई भ्रमणमा टोलीमा रहेका मौसम ढकाल र सन्दीप जोरालाई वैकल्पिक खेलाडीको सूचिमा राखेको छ । अन्य कुनैपनि खेलाडी परिवर्तन गरेको छैन । युएईसँगको अन्तिम खेल गुमाएका कुशल भुर्तेल टोलीमा फर्किएका छन् ।

नेपाल शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न भने बाँकी सबै खेल जित्नुपर्ने हुन्छ । नेपालले बाँकी चार खेल जित्दा टोलीको कुल ४० अंक हुनेछ । नामिबिया ३९ अंकका साथ तेस्रो स्थानमा छ । ४० अंक हुँदा नेपालले नामिबियालाई पछि पार्दै तेस्रो स्थानमा अन्त्य गर्नेछ ।

नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा छ । नेपालले अव दुई खेल जिते ३६ अंक हुनेछ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । दुई जित शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता जोगाउन पर्याप्त हुनेछ ।

नेपालले भोलि बिहीबार(९ मार्चमा) टियु मैदानमा पपुवा न्युगिनीसँग खेल्नेछ । त्यसपछि नेपाली टोलीले मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग खेल्नेछ ।

स्कटल्याण्ड र नामिबियासंगको त्रिदेशीय श्रृखलामा जस्तै ब्याटिड.मा नेपाल सम्हालिन सक्यो भने नेपालले चार खेलमा चारै जित सहजै निकाल्न सक्ने छ । घरेलु मैदान र अनुकूल हावापानीको लाभ नेपाली खेलाडीलाई रहेको छ । त्यसको साथमा नेपाली दर्शकले दिने हौसलाले नेपाली टिमको प्रदर्शन झन उच्च स्तरको हुने अनुमान गरिएको छ ।

नेपालको टोली 

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी. ।

 

Share Now

Leave a comment.