Prakash Adhikari March 10, 2023

काठमाडौं, २६ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्रपति–संस्था’ले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने प्रण गर्नुभएको छ।

राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँले सबैमा आभार प्रकट गर्दै राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात् गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहने प्रतिज्ञा गर्नुभयो।

नवनिर्वाचित राष्ट्रपति पौडेलले भन्नुभएको छ, ‘नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन्।’

उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा निर्वाचित हुँदै गर्दा २००७ सालको जनक्रान्तिको आरम्भदेखि प्रजातन्त्र स्थापना तथा पुनःस्थापनाका निम्ति भएका विभिन्न आन्दोलन, सङ्घर्ष र अभियानमा ज्यान गुमाउने सबै सपूत शहीदप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ।

Image

नवनिर्वाचित राष्ट्रपति पौडेलले आफूलाई साझा उम्मेदवारका रुपमा प्रस्तुत गर्ने र सहयोग गर्ने गठबन्धन दलहरु एवं मतदान गर्नुहुने सबै मतदाताप्रति आभार व्यक्त गर्नुभएको छ।

उहाँले मित्रवत प्रतिस्पर्धामा रहेका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, उहाँको दल तथा मतदातालाई पनि हार्दिक सम्मान प्रकट गर्नुभएको छ ।

‘मलाई प्रतिनिधिसभा र संविधानसभामा विजयी गराई निरन्तर सेवा गर्ने अवसर दिनुभएकामा तनहुँ जिल्लावासी तथा मतदाताहरूलाई पनि हार्दिक आभारसहित कृतज्ञता ज्ञापन गर्दछु’, उहाँले भन्नुभएको छ।

‘निष्पक्ष निर्वाचन सम्पन्न गराएकामा निर्वाचन आयोग, नेपाल सरकारका सम्बन्धित निकाय, सुरक्षाकर्मी तथा सम्पूर्ण पक्षमा धन्यवाद व्यक्त गर्दछु, सबै शुभेच्छुक तथा सहयोगी मनप्रति धन्यवाद व्यक्त गर्दछु’ उहाँले भन्नुभएको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत नौ दलको समर्थनमा पौडेल बिहीबार राष्ट्रपतिमा निर्वाचित हुनभएको हो । बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा राष्ट्रपति पौडेलले ३३ हजार ८ सय २ र प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मत प्राप्त गर्नुभएको थियो ।

(रासस / नेपालखबर)

Share Now

Leave a comment.