Prakash Adhikari March 10, 2023

कीर्तिपुर(काठमाडौं), २६ फागुन । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ को अन्तिम शृंखला अन्तरगत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको दोस्रो खेलमा समूहमा बलियो जस्तो देखिएको युएई प्रतिस्पर्धी पपुवा न्युगिनीसँग ५६ रनले पराजित भएको छ ।

पपुवा न्युगिनीसंग भएको हारेले यूएईको एकदिवसीय मान्यता खतरामा परेको छ ।

शुक्रबार त्रिवि क्रिकेट मैदानमा २ सय ४७ रनको लक्ष्य पछ्याएको यूएईले ५० ओभरको निर्धारित खेल ४२.२ ओभरमा १ सय ९० रन बनाएको अवस्थामा अलआउट हुँदै टुंग्यायो ।

यूएईका लागि आर्यन लाक्राले सर्वाधिक ५१ रन बनाए । उनले ७२ बलमा ५ चौका र एक छक्का प्रहार गरे । ओपनर मोहम्मद वजिमले २७ बलमा ४ चौका र ३ छक्का सहित ४१ रन जोडे । अर्का ओपनर आशिफ खान ११ रन बनाउँदै क्याच आउट भए । जवार फरिदले २६ बलमा २ चौका सहित १९ रन बनाए । कार्तिक मैयापन २५ बलमा १४ रन बनाउँदै आउट भए ।

युएईलाई रोक्न बलिङमा पीएनजीका लागि रिले हेकुरेले सर्वाधिक ३ विकेट लिए । कबुए मोरिए, अशद भालाले समान २–२ विकेट लिए । नोरमान भानुवा र सिमो कामियाले १ –१ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पीएनजीले तीनजना ब्याटरको अर्धशतक सहयोगमा ९ विकेट गुमाएर २ सय ४६ रनको योगफल बनाएको थियो ।

पीएनजीका किप्लिन डोरिगा, हिरी हिरी र सेसे बाउले अर्धशतकीय योगदान गरे । हिरी हिरी र बाउले शतकीय साझेदारीसमेत पूरा गरे ।  डोरिगाले ४४ बलमा ८ चौका र २ छक्काको सहयोगमा ५५ रन बनाएका थिए । पीएनजीका लागि हिरीहिरीले ८५ बलमा ५ चौका र ४ छक्काको मद्दतले ७७ रन बनाए । ओपनर सेसे बाउ ८१ रनमा अविजित रहे । खेलमा चाड सुपर नर्मन भानुले १०।१०, चाल्र्स अमिनी र हिला भरीले ४।४, रिले हाकुरे र कवुआ मोइराले १।१ रन बनाए ।

बलिङमा यूएईका युवा स्पिनर आयान खानले ३ , जुनेद सिद्धकी र जहुर खाँनले २ । २ तथा रोहन मुस्तफा र कार्तिक मेइयाप्पनले १–१ विकेट लिए ।

एकदिवसीय मान्यता धरापमा

लिग टू को शीर्ष पाँचभित्र रहेर एकदिवसीय मान्यता जोगाउन यूएईले शृंखलामा बाँकी तीनै खेल जित्नुपर्छ । यूएईको ३३ खेलबाट ३१ अंक छ । पूरै ३६ खेल खेलिसकेको अमेरिकाको ३५ अंक छ । यूएईले दुई खेल जितेमा अमेरिकासँग अंक बराबर हुन्छ । तर, हेड टू हेडमा अमेरिका अगाडि हुने भएकाले शीर्ष पाँचमा हुने सम्भावना कम हुनसक्छ ।

३३ खेलबाट नेपालको ३४ अंक छ । एकदिवसीय मान्यता जोगाउन नेपाललाई शृंखलाको बाँकी तीनमध्ये कम्तिमा १ जित आवश्यक हुनेछ । ३४ खेलबाट ११ अंक बनाएको पीएनजीको भने एकदिवसीय मान्यता गुम्ने निश्चित भइसकेको छ ।

ICC MEN’S CRICKET WORLD CUP LEAGUE 2
TEAM M W L PT NRR
SCOT 36 24 10 50 0.647
OMA 36 21 13 44 0.039
NAM 36 19 16 39 0.298
USA 36 16 17 35 -0.040
NEPAL 33 16 15 34 -0.143
UAE 33 14 16 31 -0.149
PNG 34 5 28 11 -0.681

लिग टूमा शीर्ष तीन टोलीले एकदिवसीय विश्वकपको ग्लोवल छनोटमा सिधा स्थान बनााउने छन् भने शीर्ष पाँचमा रहने टिमले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्ने छन् । अन्तिम दुई स्थानमा रहने टिमलाई एकदिवसीय मान्यता फर्काउने अर्को अवसर भने हुनेछ ।

यही मार्च अन्तिममा नामिवियामा हुने एकदिवशीय विश्वकप ग्लोवल क्वालिफायर प्लेअफमा शीर्ष दुईमा रहन सके पुछारमा पर्ने दुई देशले एकदिवशीय मान्यता फर्काउन सक्ने छन् । त्यो प्रतियोगितामा लिग टूका अन्तिमका चार र क्यानडा तथा जर्सीले प्रतिस्पर्धा गर्नेछन् ।
कसको स्थान के ?

स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो। ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अंकका साथ पाँचौं स्थानमा छ । युएई ३३ खेलमा १४ मा जित र १६ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३४ खेलमा ५ मा जित र २८ मा हारसहित ११ अंक जोड्दै पुछारमा छ।

Share Now

Leave a comment.