कीर्तिपुर(काठमाडौं), २८ फागुन । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज नेपाल र युनाइटेड अरव इमिरेट्स (युएई) बिच भिडन्त हुने भएको छ ।
खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहान ९ :३० मा सुरु हुनेछ।
घरेलु टोली नेपाल आफ्नो उच्च लयलाई निरन्तरता दिँदै युएईलाई हराउँदै आगमी चार वर्षको लागि ओडिआई मान्यता पक्का गर्न चाहन्छ । नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अंकका साथ पाँचौं स्थानमा छ ।
अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ ।
नेपालले यदि युएईलाई हराउँदा ३६ अंकका साथ चौथो स्थानमा उक्लिनेछ र शीर्ष पाँचभित्र रहँदै सोझै ओडिआई मान्यता बचाउनेछ ।
यता ३३ खेलमा १४ मा जित र १६ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा रहेको युएई आजको खेलमा जित वा हार जे भए पनि छैठौं स्थानमा नै रहने छ । तर पराजित भएमा उसको शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता जोगाउने संभावना कमजोर हुन्छ । यसका लागि उसले यसपछिका बाँकी दुई खेल जित्नुपर्ने हुन्छ त्यो पनि फराकिलो अन्तरले।
लिग २ अन्तरगत खेलेका पछिल्ला ९ खेल मध्य ८ मा जित हात पारेको छ । घरेलु मैदानमा भएका पछिल्ला पाँच खेल सबै नेपालले जितेको छ । युएई भने पछिल्ला १० खेलमध्ये २ मा मात्रै विजयी भएको छ ।
सीधै विश्वकप छनोट खेल्न नेपालले आज र यसपछिका दुवै खेल जित्नुपर्ने हुन्छ । यसरी सीधै छनोट हुने अवसरबाट भने बाहिरिएको छ ।
नेपालले पछिल्लो खेलमा पपुवा न्युगिनीलाई ५२ रनले हराएको थियो । युएई पपुवा न्युगिनीसँग ५६ रनले पराजित भएको थियो । नेपालका ओपनर आसिफ शेखले १ सय १० रनको शतकीय इनिङ खेलेका थिए । ओपनर कुशल भुर्तेल र आसिफले पहिलो विकेटका १ सय १० रनको सानदार शतकीय साझेदारी गरेका थिए ।
नेपाली टिमको अहिले ब्याटिड.को स्तरमा ब्यापक सुधार भएको छ । टिमका सबै खेलाडी ब्याटिङको राम्रो क्षमता राख्छन् ।
नेपाल कप्तान रोहित पौडेलको नेतृत्वमा मैदानमा उत्रिने छ । नेपाली टिममा दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी. रहेको छन् ।
युएई मोहम्मद वासिमको कप्तानमा मैदानमा उत्रिने छ । युएईको टिममा आयन खान, आर्यन लक्रा, अश्वन्त वल्थापा, आसिफ खान, अर्यांश शर्मा, सिपी रिजवान, हजरत बिलाल, जुनैद सिद्धिक, कार्तिक मयाप्पन, रोहन मुस्तफा, वृत्य अरविन्द, जहुर खान र जवार फरिद रहेका छन् ।
अंक तालिका
आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ मा स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो। ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अंकका साथ पाँचौं स्थानमा छ । युएई ३३ खेलमा १४ मा जित र १६ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३४ खेलमा ५ मा जित र २८ मा हारसहित ११ अंक जोड्दै पुछारमा छ ।