Prakash Adhikari March 13, 2023

जर्ज राइट । बीबीसी न्यूज

किएभ(युक्रेन), २९ फागुन । युक्रेन र रुसले बख्मुत सहरमा जारी लडाइँ तीव्र बन्दा ठूलो मानवीय क्षति भएको जनाएका छन्। पूर्वी युक्रेनको उक्त सहरलाई महिनौँदेखि जारी युद्धका बीच मस्कोले कब्जा गर्ने प्रयास गरिरहेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार पछिल्ला केही दिनयता ११ सयभन्दा बढी रुसी सेनाले ज्यान गुमाएका छन् र द्वन्द्वका कारण धेरै मानिसहरू गम्भीर घाइते भएका छन्।

रुसले भने पछिल्लो २४ घण्टामा २२० भन्दा बढी युक्रेनी सैनिकलाई मारिदिएको जनाएको छ।

दुवै पक्षले उल्लेख गरेको सङ्ख्याबारे बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गर्न भने सकेको छैन।

बख्मुतको रणनीतिक महत्त्व कम भएको तर क्रेमलिनलाई कुनै खालको सकारात्मक खबर दिन सङ्घर्षरत रुसी कमान्डरहरूका लागि केन्द्रबिन्दु बनेको विश्लेषकहरू बताउँछन्।

उक्त सहर कब्जा गर्दा रुसलाई पूरा डोनेट्स्क क्षेत्र नियन्त्रणमा लिने आफ्नो लक्ष्य निकट पुर्‍याउने छ।

डोनेट्स्क पूर्वी र दक्षिणी युक्रेनका चार क्षेत्रहरूमध्ये एक हो जसलाई रुसले गत वर्ष सेप्टेम्बरमा नियन्त्रणमा लिएको थियो।

त्यहाँ जनमत सङ्ग्रह सञ्चालन गरेपछि धेरै देशहरूले त्यस कदम अनुचित भएको भन्दै आलोचना गरेका थिए।

सैनिक

“यही मार्च ६ देखि, एक हप्ता भन्दा कम अवधिमा हामीले बख्मुत क्षेत्रमा मात्रै १,१०० भन्दा बढी दुस्मन सैनिकहरूलाई मार्न सफल भयौँ। यो बख्मुत सहर नजिक रुसले बेहोरेको ठूलो क्षति हो”, जेलेन्स्कीले आफ्नो नियमित भिडिओ सम्बोधनमा भन्नुभएको छ।

उहाँले करिब १ हजार ५ सय रुसी सैनिकहरू सैन्य कारबाहीमा सामेल हुन नसक्नेगरी घाइते भएको जानकारी समेत दिनुभयो।

रुसको रक्षा मन्त्रालयका अनुसार रुसी सेनाले २ सय २० भन्दा बढी युक्रेनी सैनिक मारिदिएको छ।

भाडाको सेना आपूर्ति गर्ने समूह द वाग्नर बख्मुतस्थित रुसी आक्रमणको केन्द्रमै छन्।

उक्त समूहका अगुवा येभगेनी प्रिगोजिनले बख्मुत कब्जा गर्न आफू र आफ्ना निजी सेनाको प्रतिष्ठालाई दाउमा राख्नुभएको छ।

उहँले आइतवार सहरको अवस्था ‘निकै कठिन भएको र दुस्मन हरेक मिटरका लागि लडिरहेको’ बताउनुभएको थियो।

‘सहरको केन्द्र नजिक लडाइँ उग्र बनेको छ’, उहाँले टेलिग्राममा सार्वजनिक भ्वाइस सन्देशमा भन्नुभएको छ।

आफ्नो उद्देश्य अनुरूप बख्मुत कब्जा गरेपछि, ‘हामी पुनः नयाँ तयारी गर्नेछौ’ र ‘विभिन्न क्षेत्रहरूबाट नयाँ मानिसको भर्ती सुरु गर्नेछौ’, उहाँले भन्नुभयो।

तर शनिवार एक अमेरिकी थिङ्क ट्याङ्क, इन्स्टिट्युट फर द स्टडी अफ वारले मस्कोको आक्रामक गतिविधि रोकिँदै गएको बताएको छ।

“वाग्नर समूहका लडाकुहरू सम्भवतः सहरी क्षेत्रहरूमा बढ्दो रूपमा केन्द्रित हुँदै छन्, त्यसैले उल्लेख्य प्रगति गर्न गाह्रो भइरहेको छ”, उक्त संस्थाले बतायो।

आक्रमणअघि बख्मुतमा लगभग ७०,००० मानिसहरू बस्थे। यो सहर नुन र खनिज पदार्थ जिप्सम खानीका लागि र त्यहाँको ठूलो वाइनरीका लागि प्रसिद्ध थियो।

रुसले जस्तै युक्रेनले पनि बख्मुतलाई राजनीतिक महत्त्व दिएको छ। राष्ट्रपति जेलेन्स्कीले त्यस सहरलाई प्रतिरोधको प्रतीकको रूपमा व्याख्या समेत गर्नुभएको छ।

गत डिसेम्बरमा वाशिङ्गटनको भ्रमण गर्दा जेलेन्स्कीले यस सहरलाई ‘आफ्नो मनोबलको किल्ला’ भएको बताउँदै यूएस कांग्रेसलाई बख्मुतको झन्डा दिनुभएको थियो।

बख्मुत र त्यसको वरपर हालसम्म २० हजार देखि ३० हजार रुसी सेनाहरू मारिएका वा घाइते भएको हुनसक्ने पश्चिमी अधिकारीहरूले अनुमान गरेका छन्।

Share Now

Leave a comment.