काठमाडौं, २९ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
सोमबार दिउँसो राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेललाई कायम मुकायम प्रधानन्यायधिश हरिकृष्ण कार्कीले शपथ गराउनुभएको हो ।
यही फागुन २५ गते राष्ट्रपतिका लागि भएको निर्वाचनमा पौडेलले ३३ हजार ८ सय २ मतभार ल्याएर मुलुकको तेस्रो राष्ट्रपति बन्नुभएको हो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो । उहाँले प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गर्नुभएको थियो ।
मतदानमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गर्नुभएको थियो ।
राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३१३ सांसद (२४ हजार ७ सय २७ मतभार) ले मतदान गरेका थिए भने प्रदेशतर्फ ५१८ (२४ हजार ८ सय ६४ मतभार) सांसदले मत दिएका थिए ।
चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरुको कूल मतभार ४९ हजार ५ सय ९१ थियो । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३ सय १५ आवश्यक पर्छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेशसभा सदस्यहरूको हाल कायम रहेको मतभार ५२ हजार ६ सय २८ थियो ।
२००१ साल असोज २९ गते तनहुँको बाहुन पोखरामा जन्मनुभएका पौडेल आफ्नो ६३ वर्षे सक्रिय राजनीतिक यात्रा पार गर्दै राष्ट्रप्रमुख बन्नुभएको छ ।
नेपाली कांग्रेस पार्टीमा आबद्ध भई ६ दशक अनवरत प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहनुभएका पौडेल संबैधानिक राष्ट्रप्रमुखको रुपमा सबैको साझा भएर काम गर्ने जिम्मेवारीमा आइपुग्नुभएको छ । उहाँले आइतबार पार्टीको केन्द्रीय सदस्यसहित सबै पदबाट राजिनामा दिनुभएको छ र सो राजिनामा स्वीकृत भईसकेको छ ।
पौडेल ६ पटक सांसद, ५ पटक मन्त्री र एकपटक प्रतिनिधिसभाको सभामुख बन्नुभएको थियो। उहाँ नौ दलीय सत्ता गठबन्धनले साझा उम्मेदवार बनाएपछि पहिलो प्रयासमै राष्ट्रपति बन्न सफल हुनुभएको हो ।
नवनिर्वाचित राष्ट्रपति पौडेल २०१६ सालमा पोखरा विन्ध्यवासीनी पाठशालामा अध्ययन गर्दागर्दै उहाँ हिमालयन छात्र संघमा आबद्ध हुनुभयो । २०१७ साल जेठ÷असारमा नेपाल संस्कृत छात्र संघको काठमाडौँ अधिवेशनमा प्रतिनिधि हुनुभएका उहाँ २०१७ पुस १ गते जननिर्वाचित संसद भङ्ग गरीे प्रधानमन्त्री बीपी कोइराला लगायत नेतालाई जेलमा राखिएको विरोध गर्दै प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुनुभयो ।
नन्दीरात्रि माविबाट एसएलसी परिक्षा उत्तिर्ण गर्नुभएका पौडेल नन्दीरात्रि मावि विद्यार्थी संघको संस्थापक अध्यक्ष हुनुभयो भने रानीपोखरी मावि विद्यार्थी संघको अध्यक्ष पनि ।
जुद्धोदय हाइस्कुलमा विभिन्न २२ विद्यालयका विद्यार्थीको भेला गराई स्वतन्त्र विद्यार्थी युनियनको माग गर्दै त्यससम्बन्धी आन्दोलनको नेतृत्व गर्नुभएका पौडेल २०१९ सालमा नेपाल संस्कृत विद्यार्थी संघको संगठन सचिवको हैसियतमा २०१९÷०२० सालमा उपत्यका आन्दोलनमा गिरफतार हुुनुभएको थियो ।
२०२०÷०२१ सालमा राष्ट्रव्यापी स्वतन्त्र विद्यार्थी आन्दोलनमा गिरफतार हुुनुभएका पौडेल २०२३ सालमा गण्डकी छात्र संघको संस्थापक संयोजक बन्नुभयो । उहाँ सोही बर्ष सरस्वती कलेज स्वतन्त्र विद्यार्थी युनियन सभापति निर्वाचित हुुनभयो भने २०२४ सालमा प्रजातान्त्रिक समाजवादी युवा संघको संस्थापक महासचिव बन्नुभयो । उहाँ २०२७ सालमा नेपाल विद्यार्थी संघको संस्थापक सदस्य बन्नुभयो ।
२०२७ सालमा नेविसंघको संस्थापक सदस्य बन्नुभएका पौडेल २०३४ सालबाट आफ्नै जिल्ला तनहुँबाट जिल्ला सदस्य भएर मूल पार्टी नेपाली कांग्रेसमा सक्रिय हुनुभयो ।
२०४३ सालमा केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख हुँदै निरन्तर केन्द्रीय सदस्य रहनुभएका पौडेल २०६२ सालमा केन्द्रीय महामन्त्री, २०६४ सालमा केन्द्रीय उपसभापति, २०७२ सालमा कार्यवहाक सभापति बन्नुभएको थियो ।
२०४८ सालपछि भएका ७ वटा संसदीय चुनावमध्ये २०७४ सालको बाहेक अन्य सबै निर्वाचनमा उहाँले विजय हासिल गर्नुभएको थियो । २०५१ सालमा प्रतिनिधि सभाको सभामुख बन्नुभएका पौडेल २०६५ मा कांग्रेस संसदीय दलको नेता बनेर विपक्षी दलको नेताको भूमिका निर्वाह गर्नुभएको थियो ।
२०४८ सालमा पहिलोपटक स्थानीय विकास मन्त्री बन्नुभएको पौडेल, २०४९ सालमा कृषिमन्त्री, २०५६ सालमा उपप्रधानमन्त्रीसहित सूचनारसञ्चारमन्त्री, स्थानीय विकास र गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । २०६३ माओवादी शान्तिप्रक्रियामा आएपछि उनी शान्ति तथा पुनःनिर्माण मन्त्री बन्नुभएको थियो ।
प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गिरफ्तार र १५ वर्ष जेल जीवन बिताएका पौडेल २०७९ फागुन २५ गते बिहीबार भएको चुनावबाट गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । अब उहाँको काँधमा संविधानको संरक्षक भएर राष्ट्रको अभिभावकत्व गर्ने जिम्मेवारी आइपुगेको छ ।


















