कराँची (पाकिस्तान), १ चैत्र (बीबीसी) । पाकिस्तानको मुख्य विपक्षी दलका नेता इमरान खानले आफूलाई पक्राउ गर्ने प्रयासस्वरूप अधिकारीहरू कानुनबाहिर गएर काम गरिरहेको बताउनुभएको छ।
खाँनले बीबीसीसँग भन्नुभयो, “उनीहरू सबै देशको कानुनको अधीनमा हुनुपर्छ।”
तर उहाँले पाकिस्तानमा जङ्गली राज रहेको आरोप लगाउनुभयो।
मङ्गलवार अदालतको आदेशपछि पूर्वप्रधानमन्त्रीलाई पक्राउ गर्न पुगेका प्रहरीको खान समर्थकसँग उहाँको निवासबाहिर मुठभेड भएको थियो।
बुधवारसमेत उहाँलाई पक्राउ गर्न गरिएको अर्को प्रयासमा थप झडप भएका छन्।
खानले पदमा रहँदा राज्यका उपहारहरू बेचेको आरोपहरू खेपिरहनुभएको छ जुन मुद्दालाई उहाँले राजनीतिक मनसायले प्रेरित भएको बताउनुभएको छ।
लाहोरस्थित उहाँको निवास परिसरबाहिर प्रहरी बलपूर्वक अगाडि बढ्न खोज्दा त्यहाँ तनावपूर्ण अवस्था सिर्जना भएको थियो।
ढुङ्गा र इट्टा फ्याँकेका खान समर्थकहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस प्रहार गरेका थिए।
एक भिडिओ सन्देशमा ७० वर्षीय खानले शनिवार इश्लामावादस्थित अदालतमा उपस्थित हुने सुनिश्चितता गर्ने गरी हस्ताक्षर गर्ने प्रस्ताव गर्नुभयो ।
उहाँले अदालतमा यसअघि दुई लडाकु हमला भइसकेको भन्दै त्यहाँ सुरक्षा चासोहरू रहेको बताउनुभयो।
खानले शनिवारसम्मका लागि जमानतमा रहेकाले मङ्गलवार आफूलाई पक्राउ गर्नुको कुनै कारण नरहेको दाबी गर्नुभयो।
सरकारमाथि आरोप
गत एप्रिलमा इमरान खान प्रधानमन्त्री पदबाट हटनुभएको थियो।
इमरान खानले विगतका असफल प्रयासपछि सरकार आफूलाई जेलमा राख्न दृढ रहेको समेत बताउनुभयो।
“म आफ्नो रात हिरासतमा बिताउन गइरहेको कुराका लागि मानसिकरूपमा तयार छु”, मङ्गलवार उहाँले भन्नुभयो।
“कति रात भन्ने थाहा छैन तर म त्यसका लागि तयार छु।”
खानले आफ्नो घरभित्र प्रहार गरिएका भन्दै अश्रुग्याँसका खोकाहरू देखाउनुभयो।
उहाँले अधिकारीहरूले आफूलाई पक्राउ गरेर आफ्नो दललाई आउँदो निर्वाचनमा सहभागी हुन रोक्न चाहिरहेको बताउनुभयो।
तर उहाँले भन्नुभयो ूम जेलमा भए वा नभए पनि उनीहरूले मेरो दललाई जित्न रोक्न सक्नेछैनन्।ू
सरकार के भन्छ?
एकजना मन्त्रीले सरकारी कदमको चुनावसँग कुनै साइनो नरहेको र प्रहरीले उनको भ्रष्टाचारका मुद्दामा उनलाई पक्राउ गर्ने अदालतको आदेशहरू मानिरहेको बताउनुभयो।
मरियम औरङ्गजेबले महिला र बालबालिका सहितका आफ्ना कार्यकर्तालाई ढालको रूपमा प्रयोग गरेर खानले पक्राउ छल्ने र अस्थिरता उत्पन्न गराउने काम गरेको दाबी गर्नुभयो।
खानका समर्थकहरूले देशका अन्य सहरहरूमा समेत प्रदर्शन गरिरहेका छन्।
गत एप्रिलमा पदबाट हटेका खानले आफूपछि प्रधानमन्त्री बनेका शहबाज शरिफमाथि चर्को दबाव सिर्जना गरिरहनुभएको छ।


















