Prakash Adhikari October 23, 2017

वासिंटन(संयुक्त राज्य अमेरिका), ६ कार्तिक । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले लडाइँ अन्त्यतिर पुगेको भन्दै इराकमा तथाकथित इस्लामिक स्टेटविरुद्ध लडिरहेका इरान समर्थित लडाकुहरु अब फिर्ता हुनुपर्ने बताएका छन्।

लडाकुहरु इराकी सेनामा समायोजन हुनुपर्ने वा घर फिर्ता हुनुपर्ने बेला आएको उनले बताए।

आइएसविरुद्ध लडाइँ गर्दै आएका लडाकुका इरानी प्रायोजकहरुले पनि इराक छाड्नुपर्ने टिलर्सको भनाई छ।

कतार र साउदी अरेबियाको भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री टिलर्सनको पछिल्लो भनाई आएको हो।

प्रभाव

मध्यपूर्वमा इरानको प्रभाव मत्थर पार्ने प्रयासमा टिलर्सनको भ्रमण केन्द्रित रहेको बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानप्रति झन् कडा नीति अवलम्बन गर्ने घोषणा गरेको पृष्ठभूमिमा टिलर्सनले कतार र साउदी अरेबियाको भ्रमण गरेका हुन्।

इराकमा

टिलर्सनको अभिव्यक्तिको जवाफमा इरानी विदेशमन्त्री जवाद जारिफले भनेका छन्, इरानी र इराकी शियाहरुले बलिदान नदिएको भए बग्दाद र दमास्कसमा अहिले आइएसले शासन गरिरहेको हुन्थ्यो।

इराकमा अमेरिका र उसका साझेदार मुलुकहरुले लडाइँ गरिरहेको पक्षसँग इरानले समर्थन गरेका लडाकुहरुले पनि युद्ध गरिरहेका छन्।

विवाद

अमेरिकाले सघाइरहेको इराकी सरकारी फौजले पोप्युलर मोबिलाइजेशन युनिट्स ९पीएमयु० सँगै आइएस लडाकुविरुद्ध लडाइँ गर्दै आएको छ।

पीएमयु मुख्यतः शिया लडाकुहरुको गठबन्धन हो जसलाई इरानले समर्थन गर्नुका साथै आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ।

फरक प्रसंगमा टिलर्सनले साउदी अरेबिया र कतारबीचको विवाद सुल्झाउने प्रयासमा आफू सफल हुन नसकेको बताए।
दुई मुलुकबीचको विवाद नसुल्झिए इरानले त्यसको फाइदा उठाउन सक्ने उनले चेतावनी समेत दिए।

Share Now

Leave a comment.