काठमाडौं, २१ चैत्र । आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्धारण भएको निर्वाचन कार्यक्रमअनुसार सोमबार
उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तीन वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्णरूपमा सम्पन्न भएको छ ।
चितवन जिल्ला निर्वाचन क्षेत्र नं २, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नंं १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा यही चैत १८ गते स्थापना भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गरिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालकाअनुसार चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा २४ जना, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा नौ जना र बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ३६ जना उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराउनेमा ३३ जना दलको तर्फबाट र ३६ जना स्वतन्त्र गरी जम्मा ६९ जना उम्मेदवार रहेका छन् ।
पार्टीहरुको प्रतिष्ठाको लडाइँ
उपनिर्वाचन ३ क्षेत्रमा भएपनि पार्टीहरुबीच प्रतिष्ठाको विषय बनेको छ । बारा क्षेत्र नंं २ मा गठबन्धनका साझा उम्मेदवारको रुपमा उपेन्द्र यादव उठ्नुभएको छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्व डीआईजी रमेश खरेल उठनुभएकोे छ । जनमत पार्टीका शिवचन्द्र कुशवाह पनि मैदान उठ्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ बाट पुनः उम्मेदवार बन्नुभएको छ । उहाँको विरुद्धमा नेपाली कांग्रेसले पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठलाई उठाएको छ । उहाँलाई सत्तारुढ गठबन्धनका दलहरुको समर्थन प्राप्त छ । नेकपा एमालेले चितवनबाट रामप्रसाद न्यौपानेलाई उठाएको छ ।
तनहुँको उपचुनाव पनि यसपटक रोचक बनेको छ । तनहुँ १ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिपदमा निर्वाचित भएपछि रिक्त बनेको यस क्षेत्रमा नेपाली कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेद्वार बनाएको छ । उहाँ नेपाल विद्यार्थी संघको सभापति हुनुका साथै नेपाल तरुण दलका महामन्त्री बनिसक्नुभएको छ । पार्टीभित्र लामो योगदान गरेका भट्टराईका विरुद्धमा नेकपा एमालेले पूर्व प्रहरीमहानिरीक्षक सर्वेन्द्र खनाललाई उठाएको छ ।
मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ६ बाट उम्मेदवारी दिनुभएका खनाललाई एमालले तनहुँमा मौका दिएको हो । तनहुँका अर्का उम्मेद्वार अर्थशास्त्री स्वर्णीम वाग्ले हुनुहुन्छ । उहाँ नेपाली कांग्रेस परित्याग गरेर भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्नुभएको हो ।
अमेरिकामा विश्वबैंकमा जागीर खाइरहेको बेला नेपाली कांग्रेसले योजना आयोगको सदस्य बनाएपछि नेपाल आएका स्वर्णिम दुईपटक सदस्य बन्दै योजना आयोगको उपाध्यक्ष बन्नुभएको थियो । नेपाली कांग्रेसभित्र मन्त्री सरहको सल्लाहकारको भूमिका खोजिरहनुभएका वाग्ले त्यो नपाएपछि राँकिएर स्वतन्त्र पार्टीमा जानुभएको हो ।


















