Prakash Adhikari April 4, 2023

 

काठमाडौं, २१ चैत्र । उदार छविका प्रशासक तथा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी संस्था सुधारका लागि कठोर बन्दै जान थाल्नुभएको छ ।

निगमको समग्र सुधारका लागि अहोरात्र खटिदै आउनुभएका अध्यक्ष अधिकारीले निगमको अन्तर्राष्ट्रिय उडान सञ्चालनमा हेलचक्रयाई गर्ने र निगमको छवि बिगार्न उद्यत व्यक्तिहरुलाई कारबाही गर्न थाल्नुभएको छ ।

आइतबार मात्र उहाँले निगमको प्रवक्ता र अपरेशन विभागका प्रमुखहरु परिवर्तन गर्नुभएको छ ।
लामो समयदेखि प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आउनुभएकी अर्चना खड्कालाई हटाएर सो जिम्मेवारी निगमको कर्मशियल विभागमा कार्यरत पौडेललाई आइतबारदेखि लागु हुने गरी दिइएको छ ।

गएको शनिवार राती निगमको वाइडबडी जहाजका पाइलट अस्वस्थ भएपछि अपरेसन विभागलेउहाँको विकल्पमा पाइलट व्यवस्था गर्न सकेन र उक्त उडान अन्तिम समयमा रद्द भएको थियो। विमानको उडान रद्द हुँदा उडन तयार भएका यात्रुहरुको होटल खर्च देखि कनेक्टिड. उडानमा भएका यात्रुहरुको टिकटको व्यवस्था लगायतका खर्च एअरलाइन्सले ब्यहोर्नुपर्दछ ।

वैकल्पिक पाइलटको व्यवस्था गर्न नसकेकोले निगमलाई पुगेका क्षति र निगमको ख्यातिमा पुगेको असरलाई ध्यानमा राख्दै अध्यक्ष अधिकारीले अपरेसन डाइरेक्टर आरके शेरचनलाई हटाएको छ। निगमले उनको ठाउँमा निगमकै वरिष्ठ पाइलट उद्धव घिमिरेलाई जिम्मेवारी दिएको छ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार घिमिरेले सोमबारै पदभार ग्रहण गर्नुभएको छ।

घटना छानबिनका लागि निगमले समिति गठन गरेको छ।

पाइलट लामासहित तीन कर्मचारीलाई चेतावनी

निगमका अध्यक्ष अधिकारीले मलेसिया उडानका लागि अनिवार्य फरेन एयर अपरेटर सर्टिफिकेट (एफएओसी) निर्धारित समयमै नवीकरण नगरी हेलचक्य्राइँ गरेकोमा वरिष्ठ क्याप्टेन विजय लामासहित तीन जनालाई चेतावनी दिनुभएको छ ।

निगमको मलेसिया उडानको एफएओसी ०७९ वैशाख २० गते नै सकिएको थियो । ११ महिना बितिसक्दा पनि निगमको संबन्धित विभागले यसबारे ध्यान नै दिएको थिएन ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पाइलट लामालाई उनको महाशाखाको कार्यक्षेत्रभित्र पर्ने फरेन एयर अपरेटर सर्टिफिकेट (एफएओसी) मलेसियामा अद्यावधिक नगरेको विषयलाई भविष्यमा नदोहोर्‍याउन पनि चेतावनी दिनुभएको छ ।

‘निगमले क्वालालमम्पुर उडानका लागि मलेसियाको नागरिक उड्डयन कार्यालयमा आफ्नो समर सेड्युअलको अनुमति माग गर्दा एफएओसी अद्यावधिक नभएको देखियो,’ कार्यकारी अध्यक्षले आइतबार लामालाई लेखेको चेतावनी पत्रमा उल्लेख गरिएको छ,‘ तपाईंको महाशाखाको कार्यक्षेत्रभित्र पर्ने कार्य समयमा सम्पन्न नगरेको र सो को कारण निगमको उडानमा असर पर्न सक्ने सम्भावनालाई ध्यानमा राखेको देखिएनन । यसर्थ आयन्दा त्यस महाशाखाअन्तर्गतका कार्यहरूलाई समयमा नै सम्पन्न गर्न गराउन सचेत गराउँदै यस्ता गल्ती भविष्यमा नदोहोर्‍याउन निगमका कर्मचारीहरुको सेवा, सर्तसम्बन्धी विनियमावलीबमोजिम चेतावनी दिइएको छ ।’

निगमबाट ५८ वर्षे सेवाअवधि पूरा गरी अवकाश लिएका पाइलट लामा निगमको वाइडबडी विमानको पाइलटमा करारमा कार्यरत हुनुहुन्छ । कार्यकारी अध्यक्षले लामाबाहेक मलेसियामा रहेको निगमको कार्यालयका प्रमुख नेत्रराज राउत र अपरेशन विभागका प्रबन्धक चत्र नकर्मीलाई पनि मलेसियाको एफएओसी समयमै नवीकरण नगराएको घटनामा अभिलेखमा रहने गरी चेतावनी दिनुभएको छ ।

चैत १४ गते मलेसियाले निगमलाई एफएओसी नवीकरण नगराएको कारण देखाउँदै नियमित उडान रोक्ने चेतावनी दिएपछि यस रुटमा टिकट लिइसकेका यात्रुहरुका लागि कार्यकारी अध्यक्षको विशेष पहलमा निगमले ४ वटा चार्टर उडान गर्ने निर्णय गरेको थियो । अन्तिम सयममा मन्त्रालयलगायत उच्च तहबाट मलेसियालाई अनुरोध गरेपछि उसले निगमलाई अन्तिम मौका दिएको थियो ।

Share Now

Leave a comment.