नयाँ दिल्ली(भारत),२३ चैत्र। प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा आज बिहान दिल्ली आइपुगेका छन् ।
प्रधानमन्त्री ओलीलाई इन्दिरा गान्धी अन्तर्राष्टिय विमानस्थलमा भारतका संघीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेको थिए ।
प्रधानमन्त्री ओली सहितका नेपाली अति विशिष्ट अतिथिहरु एअरपोर्टबाट सीधै राष्टपतिभवनमा प्रस्थान गरेका छन् ।
प्रतिनिधि मण्डलका अन्य सदस्यहरुलाई सुविधासम्पन्न होटलमा राख्ने प्रबन्ध गरिएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा तीन दिवसीय राजकीय भ्रमणमा दिल्ली आईपुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली आजै अपरान्हदेखि विभिन्न औपचारिक कार्यक्रममा सरिक हुने कार्यक्रम छ ।
राष्ट्रपति भवनमा केहीबेर आराम गरेपछि प्रधानमन्त्री ओली भारतीय उद्योगी व्यवसायीसँग अन्तरक्रियामा सरिक हुनेछन् । नेपालमा लगानीको अवसरका बारेमा प्रधानमन्त्री ओलीले इन्डिया फाउन्डेसन तथा भारतीय उद्योग वाणिज्य महासंघ (फिक्की) द्वारा आयोजित बेग्लाबेग्लै कार्यक्रमलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
इण्डिया फाउण्डेशन र उद्योग व्यवसायीको कार्यक्रमपछि प्रधानमन्त्री दिवाभोजमा सरिक हुनेछन् ।
आजै प्रधानमन्त्री ओलीसंग भारतीय राजनीतिक दलका नेताहरूले राष्ट्रपति भवनमै शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
नेपालका प्रधानमन्त्रीसंग भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी, भाजपाका शीर्ष नेता, भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम यचुरी, पूर्वसांसद डीपी त्रिपाठी र अन्य साना दलका नेताले भेट्ने कार्यक्रम रहेको छ ।
शुक्रबार साँझ बाह्रखम्बारोडस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतमा रहेका नेपाली समुदायका प्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम छ ।
आजै साँझ दिल्लीस्थित नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछ । सो कार्यक्रममा दिल्लीस्थित कूटनीतिक र राजनीतिक समुदाय पनि सहभागी हुनेछन्। दूतावासले भारतका प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेता, पूर्वमन्त्री, नेपालका लागि पूर्वराजदूतलगायतलाई पनि निमन्त्रणा गरेको छ।
प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको नियमित उडानबाट बिहान ९ बजे भारत प्रस्थान गरेका हुन् । उनलाई बिदाइ गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम, उपमहासचिव विष्णु पौडेल, पूर्वसभामुख सुवास नेम्वाङ तथा विभिन्न मन्त्रालयका सचिवहरु पुगेका थिए ।
प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सहभागी छन् ।
यस्तै, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय संसद्का सदस्यहरु शरतसिंह भण्डारी, दीनानाथ शर्मा, रामेश्वर राय यादव, मोतिलाल दुगड, गणेशसिंह ठगुन्ना, शान्ता चौधरी, उमा रेग्मी, रामवीर मानन्धर, सीताराम महतो तथा विमलप्रसाद श्रीवास्तव भ्रमणदलमा सहभागी छन् ।
प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा मुख्यसचिव लोकदर्शन रेग्मी, परराष्ट्र सचिव शंकरदास बैरागी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल तथा प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्य सहभागी छन् ।
यस्तै, जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासे, अर्थ मन्त्रालयका सहसचिव केवलप्रसाद भण्डारी, रेल विभागका महानिर्देशक अनन्त आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, शिष्टाचार महापाल दीपक अधिकारी, नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा वैद्यनाथ महतो पनि भ्रमण दलमा सहभागी छन् ।
यस्तै, राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन, रेडियो नेपालका सञ्चारकर्मीको समेत भ्रमण दलमा सहभागिता रहेको छ । भ्रमण दलमा कलाकार राजेश हमाल र निर्देशक दिनेश डिसी पनि सामेल छन् ।
भ्रमणमा नेपाली दूतावास नयाँ दिल्लीबाट कार्यबाहक राजदूत भरतकुमार रेग्मी, इकोनोमिक मिनिष्टर कृष्णहरि पुस्करलगायत नौ जनाको पनि सहभागिता रहनेछ ।




















