Prakash Adhikari April 11, 2023

काठमाडौं, २८ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक जना सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग २ करोड ५० लाख रुपैयाँ मागेको घट्नाले उपचुनावको मुखमा सो पार्टीका अध्यक्ष रवि लामिछानेदेखि स्वर्णीम वाग्ले र रमेश खरेललाई प्रतिकूल असर पर्ने भएको छ ।

स्वतन्त्र पार्टीका सांसद श्रेष्ठले गरेको टेलिफोन संवाद रेकर्डिङमा सुनिएपछि उक्त विषयबारे रास्वपा र अन्य दलका सांसदहरूले सदनमा कुरा उठाएका छन्।

सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका उपसभापति समेत रहेका सांसद धनराज गुरुङले त्यसबारे संसदीय समितिले अनुसन्धान गर्नुपर्ने माग गर्नुभएको छ।

रास्वपाका प्रमुख सचेतकले आफ्नो दलले आन्तरिक छानबिन गरिरहेको बताउँदै विगतदेखिनै सांसदहरू मुछिएका यस्ता घटनाको अनुसन्धान आवश्यक रहने बताउनुभयो।

सांसद श्रेष्ठको सचिवालयलेसमेत विज्ञप्तिमार्फत् ‘सो संवादमा बोलेका अभिव्यक्तिहरू माननीय डा. ढाका कुमार श्रेष्ठको नभएको र सो आवाज सम्पादन (एडिट) गरिएकोु जनाएको छ।

 प्रतिनिधिसभा
उक्त संवाद पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सुरुवाती मन्त्रिपरिषद्को विस्तार हुनै लाग्दाको समयमा भएको देखिन्छ जसमा रास्वपा समेत सहभागी भएको थियो।

सो अडियो संवादमा सांसद श्रेष्ठले आफू स्वास्थ्य मन्त्री बन्न लागेको भन्दै झापामा रहेको बीएनसी मेडिकल कलेजका मालिकसँग त्यसरी रकम उठाउन खोजेको सुनिन्छ।

तर पछि सरकार गठन हुँदा उक्त दलबाट श्रेष्ठ नभइकन डा. तोषिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्नुभएको थियो।

रास्वपाले २६ चैतमा एक प्रेस विज्ञप्तिमार्फत सार्वजनिक भएको टेलिफोन संवादप्रति आफ्नो ‘गम्भीर ध्यानाकर्षण भएको’ जनाएको छ र आफूहरूको छानबिन पूरा नभएसम्म श्रेष्ठलाई पार्टीको सांसद र साधारण सदस्य दुवैका हैसियतमा कुनै काम नगर्न निर्देशन दिइएको जनाएको छ।

उक्त विज्ञप्तिमा पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई तीन दिनभित्र छानबिन गरी केन्द्रीय समितिमा पेस गर्न भनिएको छ।

आइतवार नै एक फेसबुक स्टाटस लेख्दै रास्वपाका सभापति रवि लामिछानेले आफ्नो दल ‘भ्रष्टलाई राख्ने, जोगाउने, पाल्ने’ नभएको भन्दै ‘कडाभन्दा कडा कारबाही’ गरिने बताउनुभएको छ।

उहाँले ‘पार्टी नयाँ छ, मान्छे चिन्न गाह्रो छ तर नयाँ भए पनि पार्टीमा विधि छ’ भन्दै चिन्ता लिनु नपर्ने लेख्नुभएको छ।

मन्त्री तथा सांसदका प्रतिक्रिया

धनराज गुरुङ
धनराज गुरुङ

सोमवार प्रतिनिधिसभामा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले श्रेष्ठ मुछिएको ‘घटनाले संसद्को गरिमामा पर्न गएको मानमर्दन’प्रति आफूहरूले क्षमा माग्ने जनाउनुभएको थियो।

उहाँले भन्नुभयो, “नेपालको राजनीतिमा यो पहिलो भने होइन, यस्ता घटना विगतमा समेत भएका छन्। ती सबैको सत्यतथ्य सार्वजनिक हुन सक्यो भने लोकतन्त्रप्रतिको हाम्रो प्रतिबद्धता अझ प्रतिबद्ध हुन्छ भन्ने हामीलाई लाग्दछ।”

नेपाली कांग्रेसका सांसद धनराज गुरुङले उक्त संवादमा ‘कोर टीमलाई समेत बुझाउनुपर्छ’ भनिएको भन्दै त्यो ‘कोर टीम’मा को(को छन् त्यसको समेत अनुसन्धान हुनुपर्ने माग गर्नुभयो।

गुरुङले थप्नुभयो, “भ्रष्टाचारका सम्बन्धमा, कमिसनका सन्दर्भमा यो संसद् चुप लागेर बस्न मिल्दैन‘यही बैठकबाट एक संसदीय समिति बनाएर यस घटनाको निष्पक्ष छानबिनको लागि माग गर्दछु।”

नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले सत्ता गठबन्धनले भ्रस्टाचार जोडिएको यस विषयमा जवाफ दिनुपर्ने बताउनुभयो ।

सोमवार नै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमवार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै यसबारे पहिले सम्बन्धित पार्टी र तिनका नेताहरूले प्रस्ट पार्नुपर्ने बताउनुभयो।

अनुसन्धानको प्रक्रियाबाट कोही निष्कर्षमा पुगिनसकेको बताउँदै उहाँले भन्नुभयो, “अनुसन्धानबाट जे पुष्टि हुन्छ त्यही अनुसार हामी अघि बढ्नुपर्ने हुन्छ।”

Share Now

Leave a comment.