Prakash Adhikari April 6, 2018

मुम्बई(भारत),२३ चैत्र (एजेन्सी) । सलमान खानको जमानत याचिकामाथी फैसला शनिवार हुने भएको छ । अर्थात्, अब शुक्रवारको साँझ पनि उनले जेलमा नै विताउनु पर्ने भएको छ । बलिउडका भाईजानलाई भएको सजायले उनका प्रशंसकदेखि बलिउडका सेलिब्रेटीसम्म दुःखी छन् ।

यस्तैबीच, धेरै फिल्ममा सँगै काम गरेकी एक्‍ट्रेस प्रीति जिन्टा, सलमानलाई भेट्न जोधपुर जेल पुगेकी छिन् । सलमान र प्रीतिको मित्रता निकै राम्रो छ । यो मुश्किल समयमा प्रीति जिन्टा जोधपुर सेन्ट्रल जेलमा सलमानलाई भेट्न पुग्ने पहिलो बलिउड सेलिब्रेटी हुन् ।

सलमान खान र प्रीति जिन्टाले ‘हर दिल जो प्‍यार करेगा’,’चोरी चोरी चुपके चुपके’, ‘जानेमन’, ‘हीरोज’ जस्ता फिल्ममा काम गरिसकेका छन् । फैसला सुनाए लगत्तै कांग्रेस नेता बाबा सिद्दीकी सलमानको घर ग्यालेक्सी अपार्टमेन्ट पुगेका थिए ।

बिहीवार साँझ अरबाजकी पूर्व पत्नी मलाइका र उनकी बहिनी अमृता अरोडा, ‘रेस ३’ का निर्माता रमेश तौरानी, स्नेहा उलाल, डेजी शाह र सोनाक्षी सिन्हा आफ्नो पिता-माता शत्रुघ्न र पूनम सिन्हासँग सलमानको घरमा देखिएका थिए ।

जोधपुरको सीजेएम कोर्टले बिहीवार सलमान खानलाई जोधपुरको कांकणामा अक्टोबर, १९९८ मा दुई कालो हरिणको शिकार गरेको मुद्धामा दोषी ठहर गर्‍यो । सलमानलाई अदालतले पाँच वर्षको जेल सजाय र १० हजार रुपैयाँ जरिवाना सुनाएको छ ।

उनको अलावा मुद्दाका सह-आरोपी सैफ अली खान, तब्बू, नीलम, सोनाली बेन्द्रे र उनका ड्राइभरलाई अदालतले क्लिन चिट दिएको छ । यो मामलाको अन्तिम बहस २८ मार्चमा भएको थियो । यसपछि सीजेएमले आफ्नो फैसला सुरक्षित राखेको थियो ।

Share Now

Leave a comment.