Prakash Adhikari April 12, 2023

काठमाडौं, २९ चैत्र । नेपाल बैंकर्स एशोसिएसनले निक्षेपको ब्याज दर एकल अंकमा सीमित गर्ने निर्णय सार्वजनिक गरेसंगै शेयर बजार उकालो लागेको छ ।

बुधबार नेपाल धितोपत्र बजार परिसूचक ४.९३ प्रतिशत अर्थात ९२.२२ अंक बढेर १९६३.५५ विन्दुमा पुगेको छ।

यस दिन नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएको छ। यस दिन २ सय ६७ कम्पनीको ६१ लाख ७ हजार कित्ता शेयर खरिदबिक्रीबाट १ अर्ब ९७ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक करिब ७ प्रशित बढेको छ। त्यसैगरी, यस दिन लघुवित्त, बैंकिङ्ग र विकास बैंक उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ ।

बुधबार नेप्से उच्च दरमा बढेसँगै ७ स्टकको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिद्धार्थ इक्विटी फण्ड, सिटिजन्स म्युचुअल फण्ड १, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, आदर्श लघुवित्त, खप्तड लघुवित्त, कालिञ्चोक दर्शन र गणपति लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यसैगरी, यस दिन अन्य ९ स्टकको मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन ३ ऋणपत्रको मूल्य घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनआईसी एशिया र हिमालयन डिष्टिलरीको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

बैंक तथा वित्तीय संस्थाहरुले वैशाख महिनादेखि ब्याजदर घटाउने निर्णय गरेसँगै शेयर बजारमा सुधारको संकेत देखिएको हो।

वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएर एकल अंकमा झार्ने निर्णय गरेका थिए। त्यसैगरी, फाइनान्स कम्पनीहरुले पनि मुद्दति निक्षेपको ब्याजदर ०.२० प्रतिशतविन्दु घटाएका छन्।

लगानीकर्ताहरुले लामो समयदेखि ब्याजदर घटाउन माग गरिरहेका थिए। यस दिन ब्याजदर घटाउने निर्णय भएसँगै बजारमा त्यसको सकारात्मक प्रभाव परेको जानकारहरु बताउँछन्। शेयर बजार र ब्याजदरको नकारात्मक सम्बन्ध छ। ब्याजदर बढ्दा बजार ओरालो लाग्ने गर्दछ भने ब्याजदर घट्दा बजार बढ्ने गर्दछ। अब ब्याजदर घट्ने भएपछि बजार बढेको हो।

 

Share Now

Leave a comment.