Prakash Adhikari April 7, 2018

 

हैदरावाद हाउस, नयाँदिल्ली(भारत),२४ चैत्र । मित्र राष्ट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा तीन दिवसीय राजकीय भ्रमणमा भारतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउन चाहेको बताएका छन् ।

भ्रमणको दोस्रो दिन आथितेय मुलुकका समकक्षी प्रधानमन्त्री सहितको प्रतिनिधि मण्डलसंगको औपचारिक वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

संयुक्त पत्रकार सम्मेलनलाई संबोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने दुवै मुलुकको सुरक्षा चासोलाई ध्यानमा राखी सहयोग र सहकार्य अगाडि बढ्ने बताएका थिए ।

संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपाल र भारतको समृद्धिमा एक अर्काको सहयोग र सहकार्य हुने नमुना सम्बन्ध बनाउने आफूहरुको चाहना रहेको बताए ।

उनले यो भ्रमणले दुई देशबीच सम्बन्धको नयाँ बाटो र अर्थ पहिल्याउने पनि विश्वास व्यक्त गरे ।

उनले दुई छिमेकीबीचको सम्बन्ध २१ औं शताब्दीको यथार्थताको आधारमा हुने पनि बताएका छन।

तीनै तहको चुनावपछि नेपाल राजनीतिक स्थायित्वसँगै सामाजिक आर्थिक विकासको मार्गमा अगाडि बढेकोले यसमा भारतको सहयोग र सहकार्यको अपेक्षित गरेको उनले बताए ।

आफ्नो यस भ्रमणले दुवैदेशको उच्च राजनीतिक तहमा उच्चस्तरको सम्बन्ध विकास गर्न सघाएको पनि उल्लेख गरे ।नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच अब कुनै असमझदारी नरहेको र सम्बन्ध नमूना बन्ने विश्वास व्यक्त गरेका थिए ।

सुरक्षाहितलाई ध्यानमा राखेर सहयोग : भारतीय प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध र सहयोग दुवैदेशको सुरक्षाहितलाई ध्यानमा राखेर अगाडि बढ्ने बताएका छन् ।

तीन दिवसीय राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसंगको औपचारिक भेटवार्ता पछिको संयुक्त पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसै बर्ष तीन तहका निर्वाचन सम्पन्न गरेर नेपालले महत्वपूर्ण उपलब्धि हाँसिल गरेको बताए ।

उनले नेपालको विकासबारे प्रधानमन्त्री ओलीले आफ्नो योजना सुनाएको बताए।

नेपालको विकासको लागि भारत सँधै साथमा रहने मोदीको कथन थियो ।

‘भारतको विकासका लागि मेरो सवका साथ सवका विकास नारा छ’, उनले भने ‘उहाँको पनि नेपाल विकासको लागि समृद्धिको नारा दिनुभएको छ, समृद्ध नेपाल-सुखी नेपालीको।’

नेपालको विकासमा नेपालको प्राथमिकता र आवश्यकताको आधारमा भारतको सहयोग हुने बताए। सगरमाथाको देशलाई सागरसम्म जोड्नको लागि हाम्रो सहयोग रहने उनले बताए।

रेलवेमा पनि काठमाडौंबाट नयाँ दिल्लीमा नयाँ रेलको कनेटिभिटी गर्ने विषयमा पनि कुरा भएको उनले बताए। पेट्रोलियम पाइपलाईन, एकीकृत चेक पोष्ट र तराईको रोड कनेक्टिभिटिको नमुना भएको उनले दावी गरे ।

नेपाल र भारत दुवै कृषि प्रधान देश भएको बताउँदै उनले कृषि अनुसन्धान, कृषि शिक्षा, कृषि विज्ञानमा सहयोग बढ्ने बताए।

भारतले पञ्चेश्वर र अरुण ३ को निर्माणलाई तीव्रता दिने पनि उनले बताए।

उनले दुई देशको साझा सुरक्षा हितमा राखेर काम हुने बताए।

Share Now

Leave a comment.