काठमाडौं, ५ वैशाख । एसीसी प्रिमियर कप अन्तरगत आज भएको समुद्घाटन खेलमा नेपालसामुु मलेशियाले २ सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिड. गरेको मलेसियाले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २ सय ३५ रन बनाएको थियो ।
खेलमा मलेशियाका कप्तान अहमद फैजले ९५ बलमा ८ चौका र एक छक्काको मद्तले ७६ रन बनाए । विरनदीपले ९४ बलमा ४६ रन बनाए भने खिजर हायातले २२, स्याजरुल इन्द्रुसले २१, मोहम्मद अमिरले १७, मोहम्मद सयाहदातले १५, सैयद अजिजले १३, विजय उनीले १२ र मोहम्मद वाफिकले १ रनको योगदान दिएका थिए ।
मलेशियालाई रोक्ने क्रममा सोमपाल कामी र सन्दीप लामिछानेले ३ । ३ तथा ललित राजवंशीले २ र गुल्शन झाले १ विकेट लिएका थिए ।
१० राष्ट्रिय टोलीको सहभागिता रहेको एसीसी प्रिमियर कप खेलको विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउँछ ।
प्रतियोगिता समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म टियु र मुलपानीमा हुनेछ ।हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । आज उता मुलपानी मैदानमा हङकङले सिंगापुरसँग खेल्नेछ । यो खेलसँगै माथिल्लो मुलपानी मैदानले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नेछ ।
कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सन्दीप लामिछाने, भीम सार्की, र ललित राजवंशी छन् ।


















