बेनी(म्याग्दी), ५ वैशाख । म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार एकजना बेपत्ता छन् भने अर्का एकजनाको जीवितै उद्धार गरिएको छ ।
काठमाडौँको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा जानुभएकी भारतीय आरोही बलजित कौरको ७ हजार ५ सय मिटर उचाइबाट कैलाश एयरको हेलिकप्टरमार्फत आज दिउँसो उद्धार गरिएको उद्धारमा खटिनुभएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।
उहाँका अनुसार ‘सेभेन समिट ट्रेक्स ’बाट आरोहणमा जानुभएका आरोही नोयल हन्नाको मृत्यु भएको छ । उहाँको शव ६ हजार मिटरको उचाइबाट आज दिउँसो आधार शिविरमा ल्याइएको छ । उहाँहरु दुवैजना आज बिहानदेखि बेपत्ता हुनुभएको थियो ।
सेभेन समिट ट्रेक्सबाट आरोहणमा जानुभएका भारत राजस्थान किसनगढका ३४ वर्षीय अनुराग मालु वेपत्ता हुनुभएको छ । सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंका अनुसार सफलतापूर्वक आरोहण गरी आधार शिविर फर्कने क्रममा सोमबार दिउँसोदेखि ७ हजार ५ सय मिटरको उचाइबाट उहाँ वेपत्ता हुनुभएको थियो ।
उद्धार गरिएका आरोही र मृतकको शवलाई आधार शिविरबाट काठमाडौँ लैजाने तयारी गरिएको छ । बेपत्ता मालुको खोजीमा निजी कम्पनीका चारवटा हेलिकोप्टर परिचालन गरिएको छ । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्छ ।


















