Prakash Adhikari April 7, 2018

जोधपुर(भारत), २४ चैत्र । बलिउड अभिनेता सलमान खान ५० हजार जमानतमा छुट्ने भएका छन् ।
उनी विगत तीनदिनदेखि जोधपुरको सेन्ट्रल जेलमा कैद थिए।

कालो हरिणको २० वर्षपहिले शिकार गरेको अभियोगमा बिहीबार ५ वर्षका लागि जेल चलान गरिएका सलमानको अपीलमा शनिबार सुनुवाइ गर्दै जोधपुरको एक अदालतले उनलाई रिहाइ गर्ने फैसला गरेको हो।

सलमानलाई ५० हजार धरौटीमा रिहाइ गरिएको हो। जोधपुर सेशंस कोर्टका न्यायाधीश रवीन्द्रकुमार जोशीले सलमानलाई जमानत दिने फैसला गरेका हुन्।

सलमानलाई न्यायाधीशले रिहाइ गर्न फैसला गरेसँगै उनलाई जेलबाट बाहिर निकाल्ने प्रक्रिया सुरु भएको छ। उनी आजै जोधपुरबाट मुम्बइ जाने बताइएको छ।

उनलाई भविष्यमा अदालतले भनेको बेला उपस्थित हुन भनिएको छ। सलमानले जमानत पाएपछि उनका फ्यानहरूमा खुसी छाएको छ।

दुईवटा काला हरिणको सिकार गरेको अभियोगमा सलमान लामो समयदेखि कानुनी झमेलामा रहदै आएका छन्।

सलमानलाई जमानत दिने फैसलाप्रति उनीविरुद्ध कानुनी लडाइमा रहेको वैष्णव समाजले भने हाइकोर्टमा अपील गर्ने प्रतिक्रिया दिएका छन्।

उनीहरूले सलमानलाई जेल हाल्नुपर्ने माग यथावत राखेका छन्।

Share Now

Leave a comment.