काठमाडौं, ७ वैशाख । ओपनर विरनदीप सिंह र मोहम्मद आमिरको अर्धशतकमा मलेसियाले एसिसी प्रिमियर कपमा साउदी अरेवियालाई ८ विकेटले पराजित गरेको छ ।
पहिलो खेलमा घरेलु टोली नेपालसँग पराजित भएको मलेसियाले दोस्रो खेलमा साउदीलाई सहजै पराजित गरेको छ ।
जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले २१.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । मलेसियाको जितमा विरनदीप सिंह ५१ रन जोडे भने अर्का ओपनर मोहम्मद आमिरले ५६ रनको योगदान दिए । खेलमा सैयद अजिजले ३४ रन जोडे भने मोहम्मद सहयादातले ४ रनको योगदान दिए ।
मलेशियालाई रोक्ने क्रममा साउदी अरेवियाका जैन उल अबिदीनले दुई विकेट लिए । अन्य बलरले विकेट लिन सकेनन् ।
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साउदी अरेविया ४६.२ ओभरमा १ सय ५३ रनमा अल आउट भएको थियो ।
साउदीका विकेटकिपर हसिब गाफुरले ७८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४० रन बनाएका थिए । त्यस्तै अब्दुल वाहिमले ३६, हिसम शेखले २१, अतिफ उफ रहमानले १८,इमरान आरिफ,मनन अली र जैनऊल अविदिनले ५।५,इश्तियाक अहमदले ३, वागर उल हसनले २ र साद खानले १ रनको योगदान गरे ।
साउदीलाई रोक्नका लागि मलेसियाका खिजार हायतले ३ , मोहम्मद वाफिक, रिजवान हैदर र अनवार रहमानले २/ २ तथा विरानदीप सिंहले १ विकेट लिए ।
एसिसी प्रिमियर कपमा समूह ए मा घरेलु टोली नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिता सेमिफाइनल, फाइनल हुँदै उपाधि जित्ने टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछन् ।
एसिया कपमा समूह ए मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता टोली हुनेछन् । समूह बी मा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन् ।
मलेसियाले आइतबार मुलपान मैदानमा ओमानसँग खेल्नेछ । साउदीले दोस्रो खेल शनिबार कतारसँग टियु मैदानमा खेल्नेछ ।


















