काठमाडौं, ८ वैशाख । नेपालका बलर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी एक सय विकट पूरा गरेका छन् ।
एसीसी प्रिमियर कप अन्तर्गत शुक्रबार ओमानविरुद्ध विकेट लिएसँगै सन्दीपले एक दिवसीय क्रिकेटमा सर्वाधिक छिटो सय विकेट पूरा गर्ने खेलाडीको विश्व कीर्तिमान रचेका हुन् ।
१३औँ ओभरमा क्रिजमा ल्याइएका लामिछानेले आफ्नो ओभरको तेस्रो बलमा नै १३ रन बनाएर खेलिरहेका शफिकलाई एलबीडब्लुको धरापमा पारेका थिए।
उनले विकेट लिने वित्तिकै मैदानमा रहेका नेपाली टोलीका सहयात्रीहरूले काँधमा उठाएर उनको कीर्तिमानको खुसीयाली मनाए।
समर्थकहरूले पनि ‘बधाई सन्दीप’ लेखेको ब्यानर प्रदर्शन गरेका थिए।
सोही ओभरमा लामिछानेले अर्को विकेट पनि लिए। ओभरको अन्तिम बलमा उनले जीसन मक्सुदलाई बोल्ड गरेका थिए।
१५ औँ ओभरमा फेरि उनले पहिलो बलमै अर्को विकेट लिए।
२५ रन बनाएर क्रिजमा जमिरहेका कश्यप प्रजापतिलाई लामिछानेले फेरी एलबीडब्लुको सिकार बनाएर तेस्रो विकेट हात पारे।
यो सँगै जारी खेलमा लामिछानेले ३ विकेट लिइसकेका छन्।
यसअघि गत महिना कीर्तिपुर क्रिकेट मैदानमा भएको आइसीसी विश्वकप लिग-२ को अन्तिम खेलमा लामिछानेले मोहम्मद वासिम (६३ रन)लाई एलबीडब्लुको धरापमा पारेपछि विकेट सङ्ख्या ९९ पुर्याएका थिए।
तर त्यसदिन उनले अर्को विकेट भने लिन सकेनन्।
कसको कीर्तिमान तोडे?
२०१८ को अगस्ट १ मा नेदरल्यान्ड्स विरुद्ध खेल्दै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा पदार्पण गरेको थियो।
सो खेलमा लामिछानेले पहिलो विकेट लिएका थिए।
त्यसयताको पाँच वर्षको अवधिमा लामिछाने नेपाली टोलीको प्रमुख ‘विकेट टेकेर’ बन्दै आएका छन्।
सो क्रममा उनले तीन पटक पाँच विकेट लिएका छन्।
टी-२० अन्तर्राष्ट्रियमा पनि लामिछानेले ४४ खेलबाट ८५ विकेट लिइसकेका छन्। त्यस्तै लिस्ट ए मा उनको नाममा १४५ विकेट छ भने टी- २० मा उनले १९३ विकेट लिएका छन्।
पाँच वर्षको उपलब्धि
यसअघि सो कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो।
खानले सन् २०१५ मा ४४ खेल खेलेर सो कीर्तिमान रचेका थिए।
त्यसैगरी अस्ट्रेलियाका बलर मिचेल स्टार्कले ५२ खेल खेलेर १०० विकेट लिएका थिए।
उक्त कीर्तिमान उनले सन् २०१० मा बनाएका थिए।
एक दिवसीय अन्तर्राष्ट्रिय खेल्ने क्रममा पाँच वर्षमा लामिछानेले तीन पटक ५ विकेट लिएका छन्।
सन् २०१८ को अगस्ट १ मा नेदरल्यान्डस् विरुद्ध एक दिवसीय खेल्दै लामिछानेले पहिलो विकेट लिएका थिए। त्यो नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि खेलेको पहिलो शृङ्खला थियो।
अन्य कीर्तिमान
लामिछानेका नाममा अरू कीर्तिमानहरू पनि छन्।
उनी राष्ट्रिय टोलीको कप्तानी गर्ने विश्वको सातौँ कान्छा कप्तान हुन्। सन् २०२२ मा विश्वकप लिग-२ अन्तर्गत सारजाहमा पपुवा न्यूगिनी विरुद्ध कप्तानी जिम्मेवारी सम्हाल्दा लामिछाने २१ वर्ष २२६ दिनका भएका थिए।
यसै गरी एउटै शृङ्खलामा सबैभन्दा बढी ‘डक आउट’ हुने खराब कीर्तिमान पनि उनको नाममा छ।
विश्वकप लिग-२ को २०१८-२३ शृङ्खलामा लामिछाने सबैभन्दा बढी पाँच पटक डक आउट (पहिलो बलमा आउट) भएका छन्।
लिग -२ शृङ्खलामा नै लामिछानेले ६ विकेट लिएका थिए जुन उत्कृष्ट विकेट लिइएको विश्वकै दोस्रो सफल स्पेल बनेको थियो।
सन् २०२१ को विश्वकप लिग-२ मा पपुवा न्यूगिनी विरुद्ध ५.१ ओभरमा ११ रन खर्चेर उनले ६ विकेट लिएका थिए।
सो कीर्तिमानको पहिलो नम्बरमा भने भारतका विन्नी रहेका छन्। उनले सन् २०१४ मा भएको खेलमा बाङ्गलादेश विरुद्ध ४.४ ओभरमा दुई मेडन ओभर कायम राख्दै चार रन दिएर ६ विकेटको दुर्लभ कीर्तिमान रचेका थिए।
त्यस्तै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै एलबीडब्लु विकेट लिनेमा लामिछाने विश्वको सातौँ नम्बरमा छन्। उनले १२ वटा एलबीडब्लु विकेट लिएका छन्।
लिग-२ मा दोस्रो
विश्वकप लिग-२ मा भने लामिछानेले दोस्रो धेरै विकेट लिने खेलाडी बन्दै शृङ्खला टुङ्ग्याए। उक्त शृङ्खलामा लामिछानेले कुल ७२ विकेट लिएका छन्।
लिग-२ मा दोस्रो स्थान हात पारेको ओमानका विलाल खान ७६ विकेट लिँदै पहिलो नम्बरमा रहे। करण केसीले लिग-२मा नेपालबाट सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा दोस्रो स्थान अनि समग्रमा छैटौँ स्थानमा रहे।
उनले ५० विकेट लिएका थिए।